प्रदेश सरकारद्वारा ३७ स्रष्टा सम्मानित



काठमाडौं । प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टालाई आज सम्मान गरेको छ। पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित स्रष्टा सम्मान २०७८/७९ कार्यक्रममा प्रदेशद्वारा छनोट गरिएका ३७ जनालाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो।

बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु। एक लाख, प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु ५० हजार तथा नवोदित भाषा, कला, साहित्य, कला र संस्कृतिको सम्मानको राशि रु २५ हजार र सम्मानपत्र रहेको छ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरुलाई सम्मान गर्दै भाषा, कला र संस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको कर्तव्य भएको बताए। उनले भाषा संस्कृतिबाट सबै जातजाति एवं समुदायको पहिचान झल्किने भएकाले यस क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे।

मुख्यमन्त्री राईले विविध भाषा, साहित्य र संस्कृति सबैको गौरवको रुपमा रहेको चर्चा गर्दै यसको विकासले विश्वमा नेपालको सम्पन्नता दर्शाउने धारणा राखे। उनले समुदायमा बोलिने विभिन्न भाषाको विकास एवं संरक्षणले समाज र मुलुकको विकासलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रदेश पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेश सरकारले सदैव साहित्य र कला क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्ने प्रतिबद्धता जनाए। मन्त्रालयका सचिव ईश्वरकुमार गिरीले छनोट समितिको सिफारिसको आधारमा स्रष्टालाई सम्मान गरिएको जानकारी दिए।

स्रष्टा सम्मानका लागि गत वर्ष खेम नेपाली तथा यस वर्ष गणेश रसिकको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो।

सम्बन्धित समाचार