टिपर र भेन ठोक्किएर सुनसरीमा दुर्घटना, एक जनाको मृत्यु, नौ जना घाइते



पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–१ राजापोखरीमा बिहीबार साँझ टिपर र विङगर भेन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर विराटनगर घर भएका भेनका चालकको मृत्यु भएको हो । भेनमा सवार रहेका अन्य नौ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७३२६ नम्बरको टिपर र प्रदेश १–०२–००१ ज ३९०६ नम्बरको विङगर भेन ठोक्किँदा साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा भेन चालक विराटनगर महानगरपालिका–९ का अन्दाजी ३५–३६ वर्षीय मञ्जु खानको मृत्यु भएको हो ।

दुर्घटना उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर सप्तरीको रुपनी–४ का ४० वर्षीय रामचन्द्र साह, २२ वर्षीया पूजाकुमारी साह, सुनसरीको इनरुवा–४ की २८ वर्षीय सृजनाकुमारी मेहता, कोसी गाउँपालिका–८ का १८ वर्षीय निरज यादव, सप्तरीको छिन्नमस्ता–५ का ५५ वर्षीय राधाकृष्ण दास, विराटनगर–११ का २४ वर्षीय राहुल देव, ५३ वर्षीया सुशीलादेवी देव, २२ वर्षीया सालिनी देव र भारत विरपुर भीमनगरका ३० वर्षीय अनुभव सिन्हा घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले टिपर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का अन्दाजी २४ वर्षीय जीवन खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार