प्रदेश-१ को नामाकरण चालु अधिवेशनबाटै गर्ने सर्वदलीय सहमति



काठमाण्डौ । प्रदेश नम्बर एकको नामकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरुबीच सहमति भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले नामाकरणका सम्बन्धमा गरेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभामा प्रक्रियामा लैजानुअघि निरन्तर छलफल गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको जानकारी दिनुभयो । उहाँले दलहरुले यसअघि प्रस्ताव गरेका नामको अडान छाडेर लचकता देखाउनुपर्ने विषयमा छलफल बढी केन्द्रित भएको बताउनुभयो । उहाँले पार्टीहरुबाट वैकल्पिक नाम ल्याउनेसमेत सहमति कायम भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नामाकरणको प्रक्रिया तत्काल थाल्नुपर्नेमा जोड दिनुभएको छ । नेताहरुका अनुसार प्रदेश १ को राजधानी विराटनगर राख्न यसअघि दलहरुबीच साझा सहमति भए जस्तै नामाकरणमा पनि साझा मिलनबिन्दु खोजेर जाने शीर्ष तहमा सहमति भएको हो ।

प्रदेश १ को प्रदेश सभामा ९३ सदस्य रहेकामा एमालेका सभामुखसहित ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी नेपाल जसपाका तीन र राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएक जना सदस्य छन् ।

प्रदेश सभाबाट एमालेका दुई जनाले पालिकामा उम्मेदवारी दिन राजीनामा दिएका थिए भने माओवादी केन्द्रका एक सांसद पदमुक्त भएका थिए । ७ वटा प्रदेशमध्ये प्रदेश(१ को मात्रै नामाकरण टुङ्गो लाग्न बाँकी छ ।

सम्बन्धित समाचार