दिनदहाडै दुई लाख रुपैयाँ लुट्ने दुई युवक पक्राउ



जनकपुरधाम । जनकपुरधामबाट दिनदहाडै लाखौं रुपैयाँ लुट्ने दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

सबैला नगरपालिका ४ घर भई जनकपुरधाम १ मा बस्दै आएकी शर्मिला देवीले बैंङबाट रकम निकालेर ल्याउँदै गर्दा उनीहरूले रकम र मोबाइल लुटेर भागेका थिए। गत सोमबार प्लाष्टिकको झोलामा रकम र मोबाइल लिएर घर फर्कँदै गर्दा उक्त घटना भएको हो। घटनापश्चात् पीडित महिलाले जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको थियो। दुवैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ।

प्रहरीले जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरेको छ। दुवैजनाले रुपैयाँ लुटेपछि बाडिँसकेका थिए। प्रहरीले मोबाइल, रुपैयाँ र लुटमा प्रयोग भएको प्रदेश २-०२-००५ प ००८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार