बाबु मृत फेला परेपछि सँगै रक्सी खाएका व्यक्तिविरूद्ध छोराले दिए उजुरी



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सल्यान जिल्लाका नेता लोकमान खत्री ९लोकपाल० को मृत्यु प्रकरणमा उनीसँगै मदिरा सेवन गरेका व्यक्तिविरूद्ध किटानी जाहेरी परेको छ।

लोकमानका छोरा लोकेशकुमार खत्रीले छत्रेश्ववरी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय टोपबहादुर खत्रीविरूद्ध जाहेरी दिएका हुन्।
लोकेशकुमारले जिल्ला प्रहरी कार्यालयमा टोपबहादुरविरूद्ध किटानी जाहेरी दिएको डिएसपी सुमित खड्काले बताए।

‘उहाँले जाहेरी दिएपछि टोपबहादुरलाई पक्राउ गरिएको छ। जिल्ला अदालतबाट पाँच दिन म्याद लिई अनुसन्धान जारी छ,’ उनले भने।

सल्यानको छ्त्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पेका ५३ वर्षीय लोममान बिहीबार बिहान साढे ९ बजेतिर बागचौर ननगरपालिका वडा नम्बर १० शिवगुफा नजिकै धान खेतमा मृत अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार शिवगुफा सामुदायिक वन भित्रको गोरेटो बाटोदेखि ३५ मिटर तल खेतमा घोप्टो अवस्थामा लोकमान मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले भिरबाट लडेर उनको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ। घटनाबारे खबर पाए लगतै इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी नायव निरीक्षक ओपेन्द्रकुमार शाहीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

परिवार तथा आफन्तले उनको हत्या भएको दाबी गर्दै शब उठाउन नदिएपछि घटनास्थलमा डिएसपी खड्काको कमाण्डमा ११ जनाको टोली र जिल्ला अस्पतालबाट डाक्टर नितेश अधिकारी सहितको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।

त्यसपछि मात्रै आफन्त र स्थानीयले शब पोस्टमर्टमको लागि जिल्ला अस्पताल लैजान दिएका थिए।

बाबु लोकमान मृत फेला परेपछि छोरा लोकेसले साउन १८ मा थारमारे बजारमा मदिरा सेवन गरेर बाबु मोखला बजार तर्फ जाने भनेर टोपबहादुरसँगै हिँडेको दाबी गरेका छन्।

 

सम्बन्धित समाचार