कैलाली । कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । गौरीगङ्गा नगरपालिका–५ का अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको श्रीमान नामजाली मगरले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले ललिताको बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताउनुभयो ।
ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताउनुभयो । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको डीएसपी पाण्डेले बताउनुभयो ।
रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार भएका छन् ।
शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया