मनराम–एसकाज पत्रकारिता पुरस्कार डा. तिम्सिनालाई



खाँदबारी । यस वर्षको ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ सखुवासभाका संस्थापक अध्यक्ष डा‍. मातृका तिम्सिनालाई प्रदान गरिने भएको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसन (एसकाज)ले प्रत्येक बर्ष संखुवासभा जन्मथलो भएर नेपालभर पत्रकारिता गर्ने कृयाशिल पत्रकारलाई प्रदान गर्दै आएको उक्त पुरस्कार यो वर्ष तिम्सिनालाई दिने निर्णय गरेको जानकारी दिएको छ ।

गत बर्षसम्म यो पुरस्कारको राषि २५ हजार रुपैया र ताम्रपत्र रहेकोमा यो बर्षबाट यो पुरस्कारको राषि बृद्धि गरी ५० हजार रुपैया पु¥याईएको पनि एसकाजले जनाएको छ । शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएका संखुवासभा स्थायी घर भएका रामबहादुर श्रेष्ठ र मनमायाँ श्रेष्ठको नाममा स्थापित संस्था मनराम फाउण्डेशन र संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसन (एसकाज)द्धारा संयुक्त रुपमा स्थापित यो पुरस्कार यस अघि संखुवासभाका कृयाशिल पत्रकार गंगा बिष्ट, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरी, कान्तिपुरमा कार्यरत पत्रकार दिपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेशन म्यानेजर कृष्णराज शाक्य, नयाँ पत्रिकामा कार्यरत पत्रकार नविन गुरुङ, पाख्रिवास साप्ताहिकका सम्पादक प्रेम निरौलाले प्राप्त गरिसकेका छन ।

संखुवासभाको पत्रकारिता क्षेत्रको खम्बाको रुपमा रहेका तिम्सिनालाई संखुवासभामा पत्रकारिताको बिकासका लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दे यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको एसकाजले जनाएको छ । तिम्सिनाले सरकारी सञ्चार माध्यम गोरखापत्रको कार्यकारी अध्यक्षको भूमिकासमेत निर्वाह गरिसकेका छन । संखुवासभामा पत्रकारिताको बिकास नभएको अवस्थामा पनि लिथो ट्राईपाईटर मेसिनबाटसमेत पत्रिका प्रकाशन गरेर जनतालाई सूसूचित गर्ने काममा उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसनका निर्वतमान अध्यक्ष हेमन्त गौतम संयोजक तथा उपाध्यक्ष उद्धव भट्टराई र दुर्गा खनाल सदस्य रहेको पुरस्कार छनौट समितिले तिम्सिनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रेस स्वतन्त्रताको लागि पटक पटक संघर्ष गरेका तिम्सिना बुद्धिजीबिको रुपमासमेत चिनिन्छन । मनराम फाउण्डेशनका अध्यक्ष सुजन श्रेष्ठले प्रत्येक बर्ष प्रदान गरिने यो पुरस्कारको राषि बढाउदै लगिने र राष्ट्रिय स्तरको बनाइने बताए । पुरस्कार यहि मंसिर १७ गते शनिवार काठमाडौमा एक कार्यक्रमकाबीच प्रदान गरीने संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसनका अध्यक्ष शंकर खनालले बताए ।

सम्बन्धित समाचार