चुनावी प्रतिबद्धता पूरा गर्न जुर्मुराए दीपक खड्का, जिल्लामा म्याराथन भेटघाट



खाँदबारी– संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस जिल्ला सभापति दीपक खड्का आफ्ना चुनावी प्रतिबद्धता पूरा गराउन अगाडि सरेका छन्।

चुनावमा विजयपछि काठमाडौं पुगेर केन्द्रीय नेताहरूसँग महत्त्वपूर्ण भेटघाट गरेका खड्का शुक्रबार जिल्ला सदरमुकाम खाँदबारी आएर मतदाता र जिल्लाका अधिकारीहरूसँग व्यापक भेटघाट र छलफल गरेका छन्।

उनले शुक्रबार भोटखोला, सिलिचोङ, मकालु र चिचिलामा मतदाता भेला आयोजना गरी आफूलाई अत्यधिक मत दिई विजयी गराएकामा आभार व्यक्त गरे। भोटखोलाको हटिया पुगेर उनले मतदातालाई धन्यवाद ज्ञापन गरे। त्यसअघि किमाथांका नाका पुगेर उनले त्यहाँको अवस्था अवलोकन गरेका थिए।

यस्तै, च्याम्ताङस्थित शंखेभीरमा नेपाली सेनाले ट्र्याक खोल्दै गरेको किमाथांका सडकको अवलोकन गरे।

भोटखोलापछि मकालु गाउँपालिकाको नुम, सिलिचोङ गाउँपालिकाको ताम्कु र चिचिला गाउँपालिकाको चिचिला बजारमा मतदाता भेला गरेर धन्यवाद ज्ञापन गरे।

शनिबार उनले सदरमुकाम खाँदबारीमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहित कार्यालय प्रमुखलगायत सर्वपक्षीय, सर्वदलीय भेला गराएर जिल्लाका विकास निर्माणका काम तीव्रतर गतिमा अगाडि बढाउन आग्रह गरे।

त्यसक्रममा अरुण तेस्रो परियोजनाको दिदिङ–पुखुवा सडक किनारका बासिन्दालाई दिनुपर्ने मुआब्जा चाँडोभन्दा चाँडो वितरण गर्न खड्काले आग्रह गरे। यस्तै, किमाथांका सडक र कोशी करिडोर सडक निर्माण र स्तरोन्नती तत्काल अगाडि बढाउन कार्यालय प्रमुखहरू र ठेकेदारहरूलाई आग्रह गरे।

सोही क्रममा जिल्लाको विकास निर्माणसम्बन्धमा उनले राय सुझाव पनि लिएका थिए।

भेलाका क्रममा हाल बन्द रहेको किमाथांका नाका तत्काल खोल्न पहल अगाडि बढाइने उनले बताए। यस्तै, खाँदबारी नगरपालिकाको हेलुवाबेंसीबाट सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीको छब्बीसेघाटस्थित पक्की मोटरेबल पुल निर्माण तत्काल अगाडि बढाउँदै चाँडो सम्पन्न गर्न सांसद खड्काले निर्देशन दिए।

छब्बीसेघाटबाट सिलिचोङसम्म यातायातका साधन सञ्चालनमा ल्याउन अरुण नदीमा फेरी सञ्चालनको प्रक्रिया अगाडि बढाउन पनि उनले सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिए।

यस्तै, तुम्लिङटारबाट भोजपुर जोड्ने अरुण नदीको लम्सुवाघाटमा रोकिएको पक्की पुल निर्माण तत्काल अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिए।

यसैगरी, शनिबार नै कार्यालय प्रमुखहरूको बैठकमा खाँदबारीबाट पाँचखपन नगरपालिका जोड्ने सभाखोलामाथिको मोटरेबल पुल निर्माण र सभाखोलाबाट खाँदबारीको लबिङहिलसम्मको सडक स्तरोन्नती तत्काल थाल्न निर्देशन दिए।

सर्वदलीय बैठकमा सबै दलका नेताहरूको सुझाव र सल्लाह लिँदै सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।

सम्बन्धित समाचार