खाँदबारी । केहि बर्षदेखि चिचिला बजार आसपासमा बेवारिसे अवस्थामा बस्दै आएकी एक महिलाको उद्धार गरिएको छ । आगोले पोलेर घाईते अवस्थामा रहेकी एक युवतीलाई चिचिला गाउँपालिकाले उद्धार गरि जिल्ला अस्पताल खाँदबारी ल्याएको हो ।
सर्मिता नाम बताउने अन्दाजी २०-२२ बर्षकी युवतीको खुट्टा जलेर गम्भिर घाईते अवस्थामा उद्धार गरिएको हो । उपचाररत युवतीलाई खाँदबारी स्थीत गैह्रसरकारी संस्था सुरक्षित आवास महिला केन्द्रले संरक्षण गर्न थालेको छ । युवतीलाई उपचार पश्चात पनि केन्द्रले नै संरक्षण गर्ने बताईएको छ ।
करिव ७ बर्ष अघि चिचिला बजार आएकी ति युवतीले घर भारत भएको, आमा अर्कोसँग बिवाह गरि गएको र बुवाले अर्को बिहे गरेको बताउने गरेकी छिन् । चिचिला बजारमा अर्कालाई काम सघाउँदै गुजारा गर्दै आएकी युवती तीन हप्ता अघि खुट्टा जलेको अवस्थामा भेटेपछि चिचिला गाउँपालिकाले उपचार गर्दै आएको थियो ।
ठिक हुँदै गएको घाउ फेरि पाक्न थालेपछि गाउँपालिकाको एम्बुलेन्सबाट खाँदबारी अस्पताल ल्याईएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । अहिले उक्त युवतीको सुरक्षित आवास महिला केन्द्रले संरक्षण गरिरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
ती युवतीकाे अविभावक हालसम्म पत्ता नलागेकाे अध्यक्ष शेर्पाले बताउनुभयाे । उनकाे अविभावक खाेज्न जिल्ला प्रहरी कार्यालयलाई समेत अनुराेध गरिएकाे अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।
प्रतिक्रिया