प्रधानले दिए पत्रकार महासंघलाई निशुल्क जग्गा, यसै बर्ष भवन निर्माण सुरु हुने



खाँदबारी । नेपाल पत्रकार महासंघ संखुवासभा शाखालाई निःशुल्क रूपमा दाताबाट ३० लाख रुपैयाँ बराबरको जग्गा प्राप्त भएको छ।

महासंघको भवन निर्माण गर्नका लागि खाँदबारीका स्थानीय उद्योगी, यापारी तथा समाजसेवी कृष्णभगत प्रधानले आफ्नो स्वर्गीय पिता गोपालभगत प्रधानको स्मृतिमा ३० लाखबराबरको मिटर ९६३।२५ वर्ग मिटर जग्गा दिएको हो।

बिहीबार मालपोत कार्यालय खाँदबारीमा नेपाल पत्रकार महासंघको नाममा दाता कृष्णभगत प्रधानले जग्गाको रजिस्ट्रेसन पास गरी जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो।

जग्गादाता कृष्णभगत प्रधान र मालपोत कार्यालय प्रमुख चेतनाथ पराजुलीले पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई जग्गाधनीपुर्जा हस्तान्तरण गरेका थिए। दर्जनौँ संघसंस्था आबद्ध प्रधान हाल संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष र सञ्चार उद्यमी रेडियो संखुवासभाका अध्यक्षसमेत हुन्।

पत्रकार महासंघको भवन निर्माण गर्नका लागि खाँदबारी–१ स्थित टुँडिखेलको बसपार्कसँग टाँसिएको जग्गा उपलब्ध गराएको हो। बसपार्क क्षेत्रसमेत भएकाले मानिसहरूको धेरै आवतजावत भइरहने सो जग्गा स्थानीय मूल्यअनुसार प्रतिमिटर ३ देखि ४ लाख रुपैयाँमा कारोबार भइरहेको बताइएको छ। पत्रकार महासंघलाई दाताले करिब ३० लाख रुपैयाँबराबरको जग्गा हस्तान्तरण गरेको हो।

सो जग्गामा यसै वर्षदेखि भवन निर्माण सुरु गरिने पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले बताए। उनले प्रदेश सरकारबाट भवन निर्माण लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ भने खाँदबारी नगरपालिकाबाट ७ लाख रुपैयाँ विनियोजन भइसकेकाले चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालै भवन निर्माण कार्य सुरु गरिने महासंघका अध्यक्ष गिरीले बताए।

सम्बन्धित समाचार