लिस्वन । नेपाली राहदानी दरखास्त सङ्कलनका लागि मार्च २९ मा सरकारी टोली पोर्चुगल आउने भएको छ । पोर्चुगल समेत हेर्ने जिम्मेवारी पाएको फ्रान्सस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
टोलिले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको समन्वय र सहजीकरणमा मार्च २९ देखि अप्रिल २५ सम्म राहदानीका लागि बायोमेट्रिक तथा निवेदन सङ्कलन गर्नेछ ।
राजदूतावासका अनुसार राहदानीको म्याद सकिएको वा क्षति भएको तर ‘सेफ’मा एपोइन्मेन्ट भएकाहरुका लागि मार्च २९, ३०, ३१ र अप्रिल २ तारिखका दिन समय निर्धारण गरेको छ भने राहदानी हराएकाहरुका लागि अप्रिल ३ देखि ७, ९ देखि १४ र १६ देखि १९ सम्म समय निर्धारण गरेको छ । त्यसैगरी राहदानीको म्याद सकिएर बसेका व्यक्तिहरुले अप्रिल २०, २१ र २३ का दिन निवेदन दिन सक्नेछ । राहदानी नष्ट भएका र पोर्चुगलमा जन्मिएका नाबालिग व्यक्तिहरुले भने अप्रिल २४ र २५ तारिखका दिन निवेदन दिन सक्नेछ ।
बायोमेट्रिक तथा निवेदन सङ्कलन यस कार्यबाट राहदानी हराएका तथा म्याद समाप्त भएका करिब ५ हजारभन्दा बढी व्यक्तिहरुले सेवा लिने अनुमान गरेको अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयले जनाएको छ। यसअघि कार्यालयले राहदानी दरखास्त सङ्कलन कार्यलाई सहज बनाउने विषयमा विभिन्न संघसंस्थाहरुसँग छलफल समेत गरेको थियो ।
प्रतिक्रिया