सिसुवाखोला पहिरो विस्थापितलाई बाँडियो दाताबाट संकलित रकम, प्रत्येक घरमा सौचालय बनाईने



विस्थापितहरुकाे बिवरण र चेक एभरेष्ट बैंक सिलिचाेङ शाखालाई बुझाउँदै सिलिचाेङका जनप्रतिनिधीहरु ।

खाँदबारी । अबिरल बर्षापछि २०७७ साल असार २७ गते मध्यरातमा सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवामा पहिरो गयो । पहिरोमा परि बेसिन्दा गाउँका ११ जनाले ज्यान गुमाए ।

दर्जनौ घरमा क्षति पुग्यो भने बेसिन्दा र चेप्चेवा गाउँ नै विस्थापित भयो । स्वास्थ्य चौकी र वडा कार्यालय समेत जोखिममा पारेको थियो । सबै पक्षको सहयोग र तदारुकताले विस्थापित परिवारहरुलाई सुरक्षित ठाउँमा अस्थायी व्यवस्थापन गरिएको थियो भने स्थायी व्यवस्थापनको लागि चित्रे, बखल्टुम र खाँदबारीमा जग्गा खरिद गरि हाल पनि घर निर्माणको प्रकृयामा सम्बन्धित निकायहरु लागि परिरहेका छन् ।

उक्त समयमा विभिन्न संघ संस्थाको पहलमा सहयोग संकलन अभियान चल्यो र ठुलो मात्रामा आर्थिक तथा जिन्सी सहयोग संकलन भयो । गाउँपालिकाले तत्कालिन पालिका अध्यक्ष रामबहादुर कुलुङको संयोजकत्वमा अस्थायी पुर्नवास तथा राहत संकलन समिति नै बनाएर सहयोगको अपिल गरेको थियो । उक्त अपिल पछि ७९ लाख ८७ हजार ५ सय ८५ रुपैंया नगद र जिन्सी संकलन भएको थियो ।

रकम मौज्दात रहेपनि जिन्सि तत्कालै सम्बन्धित परिवारलाई वितरण गरिएको थियो । नगद भने सम्बन्धित विस्थापित परिवारलाई गत शनिबार हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले पहिरोको समयको स्मरण गर्दै यस्ता जोखिमको सुरक्षाको लागि गाउँपालिका लाागि परिरहेको बताउनुभयो ।

पहिरो विस्थापितहरुलाई गरिएको वर्गीकरणका आधारमा दुई तहमा रकम वितरण गरिएको छ । ‘क’ वर्गका १० घर परिवारलाई प्रतिघर १ लाख रकम उपलब्ध गरिएको छ भने क बर्ग सहित सबैलाईलाई शौचालय निर्माणका लागि १०७ परिवारलाई प्रतिघर ६४ हजार ९ सय ७७ रुपियाँका दरले सामुहिक खातामा उपलब्ध गराईएको छ । प्राप्त रकमबाट गाउँपालिकाले तोके बमोजिम नै खर्च गरिने पहिरो विस्थापित दुर्जधन कुलुङले बताउनुभयो ।

पहिरो गए लगत्तै विस्थापितहरुलाई अस्थायी बासस्थानका लागि राखिएको चित्रे गाउँको सरसफाईका लागि सम्बन्धित जग्गाधनीलाई ३५ हजार रुपियाँ समेत यहि कोषबाट दिईएको थियो । सो बाहेकको ६९ लाख ५२ हजार पाँच सय ५० रुपियाँ रकम बेसिन्दा र चेप्चेवाका विस्थापितलाई हस्तान्तरण गरिएको हो । यसरी वितरण गरिएको रकमबाट प्रत्येक परिवारलाई अत्यावश्यक शिर्षकमा लगानी गर्ने निति लिईएको गाउँपालिका उपाध्यक्ष देविता कुलुङले बताउनुभयो । स्थान्तरण गरिएको रकमबाट तोकिएको कार्य भए नभएको बारे गाउँपालिकाले नियमित अनुगमन गर्ने समेत उहाँले बताउनुभयो ।

पहिरो घटनाको लामो समयपछि अर्थात झण्डै साँढे ३ बर्षपछि संकलित रकम पहिरो विस्थापितहरुलाई वितरण गरिएको छ । यो विचमा पिडितहरुलाई रकम तत्काल उपलब्ध गराउने पर्ने तर नगरिएको भनेर टिकाटिप्पणीहरु पनि नआएको होईन । यसरी गुनासो तथा टिप्पणी आउनु स्वभाविक पनि हो ।

फेरी स्थानीय सरकार सिलिचोङ गाउँपालिकाको पक्षबाट हेर्ने हो भने विस्थापितहरुको बस्ने ठेगान भएपछि मात्र वितरण गर्नु पनि सहि नै हो । तत्कालिन समयमा नगद हस्तान्तरण गरेको भए विस्थापितहरुले आफ्नो सामान्य ब्यवस्थापनमा नै रकम खर्च गरेर सक्ने थिए । त्यसबाट तत्काल केहि काम टरेपनि दिर्घकालिन उपलब्धी हुदैनथ्यो ।

अहिले पहिरो विस्थापितहरुको पुर्नवास गर्ने जग्गा निश्चित गरि घर निर्माण गर्ने प्रकृया सुरु भईसकेको अवस्थामा प्रत्येक घरमा सौचालय निर्माण गरि स्वास्थ्यको क्षेत्रमा उक्त रकम खर्च गर्नुलाई दिर्घकालिन उपलब्धीको रुपमा लिन सकिन्छ । बरु यसमा गाउँपालिकाले कुनै एक निश्चित डिजाईन तयार गरि सोहि अनुसार सौचालय निर्माण गरे एकरुपता कायम हुने र दाताहरुबाट प्राप्त रकमबाट निर्माण गरिएको भनेर पहिचान दिलाउन सके आगामी दिनमा पनि विपत्तिमा सहयोग जुट्न सहज हुने देखिन्छ ।

सम्बन्धित समाचार