जेष्ठ नागरिकहरुकाे सम्मानमा थुलुङ दुधकाेशीकाे फरक शैली



तिर्थयात्रामा निस्किएका जेष्ठ नागरिकहरुलाई विदाई गर्दै पालिका अध्यक्ष राई ।

खाँदबारी । देशकाे सवै स्थानीय तहहरुले प्रत्येक बर्ष जेष्ठ नागरिकहरुलाई केहि न केहि कार्यक्रम गरेर सम्मान गर्दै आएका छन् । अधिकांशले उपभाेग्य सामग्रीहरु उपलब्ध गराउने गरेका छन् भने केहिले नगद दिएर पनि सम्मान गर्ने गरेका छन् ।

साेलुखुम्बुकाे थुलुङ दुधकाेशी गाउँपालिकाले भने जेष्ठ नागरिकहरुकाे सम्मानका लागि याे बर्ष फरक शैली अपनाएकाे छ । यस पटक जेष्ठ नागरिकहरुलाई तिर्थ यात्रा गराएर उनीहरुलाई सम्मान गरेकाे छ । भाैतिक पुर्वाधार निर्माण मात्र विकास नभई आम नागरिकहरु खुसी र शुखी हुनु पनि विकाशकाे मानक रहेकाेले जेष्ठ नागरिकहरुकाे खुसीकाे लागि खाेटाङकाे हलेसी महादेवकाे दर्शन गर्न पठाईएकाे गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयाे ।

ढल्किदाे उमेरमा अधिकांश बुवाआमालाई तिर्थ यात्रा गर्न मन पराउने तर विभिन्न पारिवारिक समस्याका कारण जान नपाउने भएकाेले याे बर्ष पालिकाले तिर्थ यात्राकाे कार्यक्रम राखेकाे अध्यक्ष राईले बताउनुभयाे । यात्रा गर्न पाउँदा खुसी भएका आमाबुवाहरुबाट आफुहरुलाई आशिर्वाद मिल्ने समेत अध्यक्ष राईले विश्वास ब्यक्त गर्नुभयाे ।

यस पटक गाउँपालिका भित्रका ८० जनालाई हलेसी महादेवकाे दर्शन गर्न पठाईएकाे प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयाे । ३ वटा बसमा एक एक जना गाउँ प्रहरी, स्वास्थ्य कर्मी र कर्मचारी पनि खटाईएकाे कुलुङले जानकारी दिनुभयाे । यात्राकाे क्रममा सम्भावित समस्याहरुकाे समाधान तथा ब्यवस्थापनकाे लागि उनीहरु प्रत्येक बसमा खटिएकाे उहाँले जानकारी दिनुभयाे । यात्रामा पालिका उपाध्यक्ष सविता राई सहित जनप्रतिनिधिहरुकाे समेत सहभागिता रहेकाे कुलुङले बताउनुभयाे ।

विहिबार विहान गाउँपालिका कार्यालय परिषरबाट हिडेकाे यात्रुहरु साेहि साँझ हलेसी महादेव नजिकै पुगेर बास बस्नेछन् । शुक्रबार विहान हलेसी महादेवकाे दर्शन गरेर दिउँसाे आफ्नाे पालिका फर्किने कार्यक्रम रहेकाे छ ।

तिर्थयात्रीकाे टाेलीलाई विहिबार विहान गाउँपालिका अध्यक्ष असिम राई लगायतका जनप्रतिनिधिहरुले सुरक्षित यात्राकाे कामना सहित विदाई गरेका थिए ।

सम्बन्धित समाचार