सहकारीको बचत जोखिममा, बचत फिर्ता नभएपछि कम्प्युटर लिएर हिँडे बचतकर्ता



विराटनगर । ‘भोलिदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु, जे सुकै गर्नुहुन्छ गर्नू लु,’ सहकारीका बचतकर्ताले रकम फिर्ता गर्न दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले उल्टै धम्की दिए ।

विराटनगर–७ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थामा केही महिनायता बचत फिर्ता माग्ने बचतकर्ताको भीड लागेको छ । आज दिन्छु, भोलि दिन्छु भन्दै थुमथुमाएका अध्यक्ष घिमिरेलाई बुधवार भने निक्कै सकस परेको छ । यतिसम्म कि बचत माग्न आएका तीन जनाले रकम नपाएपछि सामान उठाएर लगेका छन् ।

उक्त सहकारीमा ३ हजार ५ सय बढी बचतकर्ता छन् । उनीहरुले २ करोड ५० लाख बचत गरेको अध्यक्ष घिमिरेले बताए । ‘सहकारीमा ३ हजार ५ सय बचतकर्ताको २ करोड ५० लाख बचत फिर्ता दिनुपर्नेछ,’ घिमिरेले भने, ‘ऋण लगानीमा साढे ५ करोड छ । अहिले व्यवस्थापक नभएको कारणले अरू हिसाबको यकिन गर्न सकिएन ।’ बचतकर्ताले घेरिएपछि अध्यक्ष घिमिरे र सहकारीका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले सहकारीका मेनेजर तीन महिनादेखि कार्यालय छोडेर हिँडेको कारण समस्या भएको बताए । ‘हिसाब फरफारक गर्नका लागि रजिस्टार कार्यालयबाट समिति निर्माण भएको छ र हिसाब हेर्ने काम भइरहेको छ । पहिले हिसाब छानबिन नगरीकन राष्ट्रिय सहकारी बैङ्कले पैसा रिलिज नदिएको कारणले पनि बचत फिर्ता दिन समस्या भयो । रिसाएर, जङ्गिएर र तातिएर हुने केही होइन,’ उनले भने, ‘मुलुकमा आर्थिक तरलता छ । यस्तो अवस्थामा पनि हामीले बचतकर्तालाई केही रकम फिर्ता गरिरहेका थियौँ । पाउनु पर्ने भुक्तानी पनि बैङ्कबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको हो ।’

उनले सहकारीका मेनेजर लोचन राईले ३५ लाख भन्दा बढी पैसा हिनामिना गरेको र घर बेचेर दिन्छु भनेको पनि सुनाए । ‘हामीले समयमै बचत फिर्ता दिन नसक्दा दुःख लागेको छ,’ उनी भन्छन्, ‘भोलिको कुरा के हुन्छ हेरौँ ।’

सहकारीका बचतकर्ता विराटनगरका भागवत नेपालले सहकारी परिवारले चलाएको कारण समस्या भएको बताए । ‘यो सहकारी अध्यक्षको एकलौटी हो । उहाँका छोरा, बुहारी राखेर चलाएका थिए । सहकारीमा २५ जना मान्छे फरक फरक चाहिन्छ । तर, यहाँ कागज मात्रै भेला गरिएर सहकारी गोजीको बनाइयो,’ उनले भने, ‘हामीले बचत सङ्कलनमा गएका बचतकर्तालाई तुरुन्त–तुरुन्तै दिएको पैसा फिर्ता पाउन किन ढिलो भयो । व्यवस्थापक लोचन राईलाई देखाएर सञ्चालक समिति पन्छिन पाउँदैन । बचतकर्ताको पैसा जरी पनि सञ्चालक समितिले अध्यक्षले दिनुपर्छ ।’

सहकारीमा बचत लिन आएका केही व्यक्तिले कम्प्युटर, प्रिन्टर र बस्ने टुलहरू समेत लिएर हिँडेका छन् । ‘सर्वसाधारणले सहीछाप गरेर कम्प्युटर, प्रिन्टर तथा केही टुल्सहरु लिएर हिँडेका छन्,’ बचतकर्ता अनिल श्रेष्ठले भने ।

उक्त सहकारीको सञ्चालक समितिका उपाध्यक्ष सूर्यबहादुर कार्की, सचिव लालसुन्दर राई, सदस्यहरू राजेन्द्र थापा, सुभद्रा कुमारी भट्टराई, विक्रम कार्की र नीरा सुवेदी हुन् । गत जेठ ५ गते सोमबार बसेको सहकारीको सञ्चालक समितिको बैठकले बचतकर्ताको रकम फिर्ता गर्न सबैले सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै उक्त सहकारीको शाखाहरू बेलबारी र नेता चोकमा समेत रहेको छ ।

 

सम्बन्धित समाचार