पक्राउ परेका कार्यकर्ता नछाडे बुधबारबाट कोशी प्रदेश बन्द गर्ने पहिचानवादीको चेतावनी



पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता नछाडे प्रदेशमा अनिश्चितकालिन आमहडताल गर्ने पहिचानवादीहरुले चेतावनी दिएका छन् ।

पहिचान पक्षधरको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता नछाडे प्रदेशमा बुधबारबाट अनिश्चितकालिन हडताल गर्ने पहिचानवादीहरुले चेतावनी दिएका हुन् ।

आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । ति मध्ये सोही दिन राति ६० जनालाई प्रहरीले छाडेको थियो ।

२६ जनालाई भने प्रहरीले हिरासतमा नै राखेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोरखेललका अनुसार २६ जना पहिचान पक्षधर आन्दोलनकारी प्रहरी नियन्त्रणमा छन् ।

उनीहरुलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइसकेको छैन । पक्राउ परेकाहरुलाई के गर्ने भन्ने निर्णय आज हुने उनले बताए । मुद्दा चलाउने निर्णय भए आज म्याद थप गरिने उनले बताए ।

आफ्ना नेता तथा कार्यकर्ता रिहाईको माग गरेको प्रदेश १ पून नामाङ्कन संयुक्त संघर्षसमितिले पक्राउ परेका नेता तथा कार्यकर्ता नछाडे बुधबारबाट कोशी प्रदेशमा आमहडताल गर्ने बताएको छ ।

 

सम्बन्धित समाचार