बन्ने भयाे थुलुङ दुधकाेशी प्राथमिक अस्पताल, अध्यक्ष राईद्वारा भवन शिलान्यस



साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर ५ लेकखर्कमा १० शैयाकाे प्राथमिक अस्पताल निर्माण हुने भएकाे छ । २ बर्ष भित्र सम्पन्न हुने गरि मंगलबार गाउँपालिका अध्यक्ष असिम राईले भवन निर्माणकाे शिलान्यस गरेका छन् ।

संघीय सरकारबाट प्राप्त १६ कराेड ८० लाख रुपैयाँ लागतमा भवन निर्माण हुने भएकाे हाे । उक्त भवन निर्माण गर्न रमन/नेपाल फुलबारी जेभिले ठेक्का पाएकाे छ ।

अस्पताल भवनकाे शिलान्यस कार्यक्रममा बाेल्नुहुँदै अध्यक्ष राईले निर्धारित समय भित्र नै भवन निर्माण गरिसक्न निर्माण ब्यावसायीलाई निर्देशन दिनुभयाे । पछिल्लाे समय निर्माण ब्यावसायीहरुले काम नगरिदिदा जनप्रतिनिधीहरुले गाली खानु परेकाे अध्यक्ष राईले बताउनुभयाे ।

पालिकाकाे भवन समयमा नै निर्माण सम्पन्न गर्न पालिकाकाे तर्फबाट सहयाेग गर्न कुनै कसर बाँकी नराख्ने समेत अध्यक्ष राईले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जनप्रतिनिधी र कर्मचारीले जस्ताेसुकै सहयाेग गर्न पनि तयार छाैं, निर्माण ब्यावसायी साथीहरुले २ बर्ष भित्र नै भवन निर्माण सम्पन्न गर्नु पर्याे ।’

लेकखर्कमा निर्माण हुने अस्पतालबाट थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर ४, ५ र ९ का नागरिकहरु र छिमेकी ऐसेलु खर्क गाउँपालिकाका जनता लाभान्वित हुनेछन् ।

याेसँगै थुलुङ दुधकाेशी गाउँपालिकामा चिकित्सक सहितकाे अस्पतालकाे संख्या २ पुग्नेछ । हाल गाउँपालिकाकाे सदरमुकाम समेत रहेकाे वडा नम्बर ६ मुक्लिमा सामुदायिक अस्पतालले सेवा दिईरहेकाे छ ।

सम्बन्धित समाचार