जनसम्पर्क समिति, पोर्चुगलले मनायो मेलमिलाप दिवस



लिस्वन । जनसम्पर्क समिति पोर्चुगलले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

जनवरी ८ तारिख लिस्वनको मण्डला हाउसमा उक्त कार्यक्रम आयोजना गरेको हो । समितिका सभापति युवराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा समितिकै संस्थापक सभापति पूर्ण हमाल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि पूर्ण हमालले वीपी कोइरालाको मेलमिलापको नीति नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरूका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । उहाँले पोर्चुगलमा रहँदा भोग्नु पर्ने समस्या समाधानका लागि सबै संघसंस्थाहरुलाई एकजुट हुन र मेलमिलापको नीति अङ्गिकार गर्न समेत आव्हान गर्नुभयो ।

पोर्चुगलमा कृयाशिल रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, गैरआवासीय नेपाली संघका आइसिसि सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष बौध्दप्रसाद गुरुङलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भारतमा निर्वासनमा रहेका वीपी कोइरालासहितका नेताहरु आफूमाथिको मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला २०३३ साल पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा नेपाली कांग्रेस र यससँग आवध्द संस्थाहरुले ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाउदै आएको छ ।

सम्बन्धित समाचार