तुम्लिङटार घटनाः कानमा लगाएको सुनको लोभले बृद्धाको हत्या, ४७ हजारमा बिक्री



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेमा गत माघ ६ गते मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या उनले कानमा लगाएको सुनको रिङ प्रमुख कारण रहेको प्रहरीले जनाएको छ ।

संखुवासभा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार तुम्लिङटारस्थित मंगलबारमा रहेको एसएसएफएम प्रालिको कम्पाउन्ड बाहिर स्थानीय ६२ वर्षीय दिलकुमारी घिमिरेको शव मृत अवस्थामा फेला परेको थियो । उक्त हत्याको अनुसन्धानको क्रममा दाउरा जम्मा पार्ने क्रममा जरासहितको रुखको ठुटा अचानक पल्टिँदा उक्त रुखको ठुटाले दिलकुमारी घिमिरेको टाउकोमा लागेर मृत्यु भएको भन्दै मृतककै छोरा सुभाष घिमिरेले जाहेरी दिएका थिए ।

तर, प्रहरीले भने घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बन्चरो र मृतकले प्रयोग गर्ने मोबाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली फेला पारेको थियो । घटना शङ्कास्पद देखेपछि प्रहरीले गरेको अनुसन्धानले सुनसरी धरान जिरोपोइन्ट ठेगाना बताउने ३० वर्षका दिपेन राई भन्ने आकाश राईलाई माघ ११ गते पक्राउ परेको छ । उनलाई प्रहरीले धरान–२ देशीलाईनस्थित एक गेस्टहाउसबाट पक्राउ गरेको हो । राई केही महिनादेखि खाँदबारी तुम्लिङटार बजारक्षेत्रमा कोठा बहाल लिई ज्याला मजदुरी गर्दै आएका थिए ।

‘अनुसन्धानको क्रममा दिपेन भन्ने आकाश राईले दिल कुमारी घिमिरेलाई बन्चरो प्रहार गरी कर्तव्य गरी मारी निज मृतकले कानमा लगाएको २ थान सुनको रिङ जस्तो देखिने धातु डाँका चोरी गरी आफ्नो साथमा लिई गई धनकुटाको पाख्रीवास–४ बुद्धचोकमा रहेको रुपकला ज्वेलर्समा ४७ हजारमा विक्री गरेको खुलेको छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले भने, ‘उक्त ज्वेलर्सकी सञ्चालक ३६ वर्षीय धनमाया विश्वकर्माले पनि देवबहादुर विश्वकर्मालाई ५८ हजारमा विक्री गरेको थाहा भएको छ ।’

प्रहरीले दिलमायाले लगाएको उक्त सुनको रिङ देवबहादुरको विवेक ज्वेलरीबाट बरामद गर्नुको साथै देवबहादुर र धनमायालाई पनि पक्राउ गरेको जनाएको छ । ‘दिपेन भन्ने आकाश राईले कर्तव्य ज्यान र चोरीरडाँका सम्बन्धी कसुर मुद्दामा तथा सुनको रिङ खरिद गर्ने कार्यमा संलग्न दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ,’ प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार