चिचिला र सभापोखरीले गर्यो संयुक्त कार्यपालिका बैठक, ५ महत्वपूर्ण निर्णयहरु पारित



खाँदबारी । छिमेकी तथा मित्र पालिका चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाको संयुक्त कार्यपालिका बैठक सम्पन्न भएको छ । दुई पालिका विचको साझा आवश्यकता, सम्भावना र समस्याहरुको पहिचान गरि संयुक्त रुपमा समाधान गर्ने उद्देश्यका साथ चिचिला गाउँपालिकाको सभाहलमा विहिबार बैटक सम्पन्न भएको हो ।

चिचिला गाउँपालिकाले आयोजना गरेको उक्त बैठक चिचिला अध्यक्ष पासाङ नुर्वु शेर्पाको अध्यक्षतामा दुवै पालिकाको अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थितिमा सम्पन्न भएको हो । संयुक्त बैठकमा सहभागी हुन सभापोखरी गाउँपालिकाको कार्यपालिका टोली चिचिला गाउँपालिका पुगेको थियो ।

विगतको समयमा आआफ्नै ढङ्गले विकास निर्माण गर्दै आएको दुई पालिकाले सिमा क्षेत्रमा गर्नु पर्ने विकास निर्माणमा साझेदारी तथा पालिकाको प्राकृतिक श्रोत साधनको उपभोगमा सहजिकरण गर्दै दुवै पालिकाको समृद्धिको लागि बैठकको आयोजना गरिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।
बैठकमा दुई पालिका विचको अनुभव आदानप्रदान, आपसमा गर्न सकिने सहयोग, साझेदारीमा गर्नु पर्ने विकास निर्माण, प्राकृतिक श्रोत साधनको उपभोग लगायतको बारेमा ब्यापक छलफल गरिएको थियो । करिव २ घण्टासम्म चलेको बैठकले ५ वटा निर्णयहरु पारित गरेको छ ।

सभापोखरी २ र चिचिला गाउँपालिका ५ विचको ओराङ् खोलामा मोटरेबल पुल अत्यावश्यक रहेकोले उक्त स्थानमा पुल निर्माण गर्न माथिल्लो निकायमा सामुहिक पहल गर्ने र साझेदारीमा गर्नु परे चिचिला र सभापोखरीले बराबरको लगानीमा निर्माण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, चिचिला गाउँपालिकाको केन्द्र चिचिला बजारबाट वडा नम्बर ४, १, सभापोखरीकाे २ नम्बर वडा हुँदै पालिकाको केन्द्रसम्म जोडिने सडकको स्तर उन्नतीको लागि समेत सामुहिक पहल गर्ने निर्णय गरिएको छ । आफ्नो पालिका क्षेत्रमा खानेपानीको मुहान भएर पनि भौगालिक लगायतका विबिध कारणले आफुले प्रयोग गर्न नमिल्ने तर मित्र पालिकालाई मिल्ने भएमा त्यस्तो पानीको श्रोत प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

त्यस्तै मित्र पालिकाले वा पालिकामा लघु उद्योग मार्फत उत्पादन भएको बस्तु खपत (खरिद, बजारिकरण) मा आपसमा सहयोग गर्ने र कच्चा पदार्थको आपूर्तीमा सहयोग गर्ने निर्णय पनि गरिएको छ । योसँगै सभापोखरी गाउँपालिकामा रहेको बहुचर्चित सभापोखरी धार्मिक तिर्थस्थलमा केबलकार पुर्याउनका लागि आवश्यक लगानी जुटाउन सामुहिक पहल गर्ने समेत निर्णय गरिएको छ ।

जिल्लाको दश पालिकाहरु मध्ये संयुक्त बैठक यो पहिलो हो । यस कारण ऐतिहासिक रहेको सभापोखरी गाउँपालिका अध्यक्ष भिमबहादुर लिम्बुले प्रतिकृया दिनुभएको छ । चिचिला गाउँपालिकाले आयोजना गरेको यो पहिलो बैठक अत्यन्तै प्रभावकारी र उपलब्धिमुलक रहेको सभापोखरी अध्यक्ष लिम्बुले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ ले साझेदारी वा संयुक्त ब्यवस्थापन कार्य गर्न सक्ने ब्यवस्था गरेको छ । उक्त दफामा विभिन्न १४ वटा कार्यहरु साझेदारीमा गर्न सकिने उल्लेख गरिएको छ । सो अनुसार चिचिला र सभापोखरीले सुरु गरेको यो सामुहिक कार्य साँच्चै उदाहरणीय छ । यस्तो सामुहिक कार्यले दुई पालिकाको मित्रवत् सम्बन्ध थप प्रगाढ त हुन्छ नै त्यस बाहेक विकास निर्माणमा लागत न्यूनिकरण, श्रोत साधनको अधिकतम् उपयोग र प्रभावकारी सेवा प्रबाह हुने निश्चित छ ।

सम्बन्धित समाचार