लङ्खुवा जलविद्युत परियोजनासँग चिचिला असन्तुष्ट, सामाजिक उत्तरदायित्वको काम नगरेको आरोप



निर्माणाधिन लङ्खुवा जलविद्युत आयाेजना । तस्विर: राजमान राई

खाँदबारी । चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिको सिमाना भएर बग्ने लङ्खुवा खोला र चिचिला गाउँपालिकामा रहेको ओराङखोलाबाट विद्युत उत्पादनको काम धमाधम भईरहेको छ । यी दुई वटा खोलाहरु प्रयोग गरेर ५ मेगावाट क्षमताको विद्युत सभापोखरी हाईडोपावर प्रालिले उत्पादन गर्ने गरिरहेको छ ।

यी र यस्ता परियोजना सञ्चालन गर्दा आयोजना प्रवर्धकले सामाजिक उत्तरदायित्व वापत निश्चित रकम प्रभावित क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ । तर प्रभावित स्थानीय तह मध्येको एक चिचिला गाउँपालिकामा भने हालसम्म कुनै काम नभएको चिचिला गाउँपालिकाले जनाएको छ । परियोजनाको आधा काम सकिदा समेत प्रभावित चिचिला गाउँपालिकामा कुनै काम नगरेपछि यस बारे सार्वजनिक सुनुवाई गराउने गाउँपालिकाले निर्णय गरेको छ । हालै बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

परियोजना सञ्चालकसँग यस बारे मौखिक रुपमा सोधखोज गर्दा पनि बेवास्ता गरेको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले बताउनुभयाे । चिचिलामा सामाजिक उत्तरदायित्व वापतको रकम खर्चिसकेको आयोजना सञ्चालकहरुले बताउने गरेको हल्ला सुनेको बताउनुहुँदै त्यस बारे पालिकाको जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई समेत थाहा नभएको बताउनुभयो । ‘पालिकाको स्थापनापछि म आफै लगातार अध्यक्ष छु, हामी कसैलाई पनि यस बारे थाहा छैन’, अध्यक्ष शेर्पाले भन्नुभयो ।

यो लगायतका सवै परियोजनाहरुसँग समन्वय र सहकार्य गरेर अघि बढे सवैलाई फाईदा हुने अध्यक्ष शेर्पाले बताउनुभयो ।

सम्बन्धित समाचार