चिचिलामा पशु शिविरबाट ५ हजार बढि पशुपंक्षी लाभान्वित



खाँदबारी । जिल्लाको चिचिला गाउँपालिकाले ४ वटा वडामा आयोजना गरेको निशुल्क घुम्ति शिविरबाट ५ हजार बढि पशुपंक्षी लाभान्वित भएका छन् । गाउँपालिकाको पशु सेवा शाखा मार्फत सञ्चालन गरिएको शिविरबाट पशुपालकहरुको ५ हजार ४९ पशुपंक्षीलाई सेवा दिईएको हो ।

गाउँपालिकाका पशु प्राविधिक रविन विश्वकर्माका अनुसार वडा नम्बर २ मा २८ वटा भेडा, ६६९ बाख्रा, ५९ वटा गाईगोरु, ७१ वटा बंगुर, ३८१ वटा कुखुरा, १६ वटा भैँसी, ३ बिरालो र २१ वटा कुकुरको उपचार तथा औषधी वितरण गरिएको थियो । त्यस्तै, वडा नम्बर ३ मा ६२ भेडा, १९८ बाख्रा, गाईगोरु ७६, बंगुर २८, ३८६ कुखुरा र ४६ भैसी रहेका छन् ।

वडा नम्बर ४ मा ३१३ वटा भेडा, ४०९ वटा बाख्रा, ९७ वटा गाई गोरु, ६३ वटा बंगुर, २८१ वटा कुखुरा र ४१ वटा भैसीको उपचार उपचार तथा औषधी वितरण गरिएको छ । वडा नम्बर ५ मा ११९ वटा भेडा, ५५९ बाख्रा, १५९ वटा गाईगोरु, ७८ वटा बंगुर, ८४१ वटा कुखुरा र ४५ वटा भैसीको उपचार र औषधी वितरण गरिएको हो ।

वडा नम्बर १ मा नै गाउँपालिकाको पशु सेवा शाखा रहेकोले त्यहिबाट कृषकले सेवा लिने हुदा वडा १ मा शिविर नराखिएको पशु विकास शाखा प्रमुख महेन्द्र रावतले जानकारी दिनुभयो । माथि उल्लेखित लाभान्वित संख्या प्रत्यक्ष उपचार सेवा लिने र औषधी लिनेहरुको संख्या रहेको शाखा प्रमुख रावतले जानकारी दिनुभयो ।

गाउँपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत विनियोजित बजेटबाट यो कार्यक्रम सञ्चालन गरिएको हो । यस अघि पालिका भित्रका कुकुरहरु विरालोहरुलाई शिविर नै सञ्चालन गरि रेविज विरुद्धको खोप दिईएको थियो ।

सम्बन्धित समाचार