भारतलाई नेपालको असल मित्र बन्ने अवसर



लामो समयदेखि संक्रमणकालीन स्थितिबाट गुज्रिरहेको नेपाल पछिल्ला केही वर्षयता द्वन्द्व व्यवस्थापन, राजनीतिक अस्थिरताको अन्त्य तथा लामो प्रयासबाट प्राप्त उपलब्धिहरूको संस्थागत र संरक्षण गर्ने दिशातर्फ अघि बढिरहेको छ । भारतले खुल्ला सिमाना तथा नेपालको आन्तरिक द्वन्द्वका कारण आफ्नो देशलाई सुरक्षा चुनौती बढेको जनाउँदै आएको छ । तर विडम्बना जब–जब नेपालले आफ्नै ढंगले आन्तरिक व्यवस्थालाई सुदृढ गर्ने तथा राजनीतिक अस्थिरताबाट बाहिर आउने प्रयास गर्छ, त्यतिबेला भारत नयाँ चुनौती बनेर नेपाल विरुद्ध प्रस्तुत हुने गरेको छ ।

नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनार्थ भन्दै सुरु भएको ००७ को आन्दोलनबाट देखिएको भारतीय हस्तक्षेपकारी भूमिका वर्तमान अवस्थामा मधेशकेन्द्रित दलहरूको आन्दोलनसम्म आइपुग्दा पनि उस्तै देखिन्छ । एकातर्फ नेपाल अस्थिर हुँदा आफैमाथि सुरक्षा चुनौती थपिएको भन्दै उल्टै नेपाललाई नै दोष लगाउने र अर्कोतर्फ नेपालले अस्थिरता व्यवस्थापनको प्रयास गर्दा थप चुनौतीहरू सिर्जना गरिदिने भारतको व्यवहार ऐतिहासिक रूपमै निरन्तर छ । नेपालले नयाँ संविधान निर्माण गरेयता भारतले नेपालको आन्तरिक मामिलामा देखाएको अनावश्यक चासो र हस्तक्षेपका घटनाहरूले त झन् हद नै नाघेको देख्न सकिन्छ ।

संविधान निर्माण प्रक्रिया रोक्न ठूलो कसरत गर्दै विशेष दूत नै पठाएर धम्की दिनु, संविधान निर्माण भएपछि मधेशकेन्द्रित दलहरूलाई सडकमा उतार्नु तथा आफ्नो स्वार्थ पूरा नहुँदा युद्धकालीन अवस्थामा भन्दा पनि क्रूर ढंगले नाकाबन्दी गर्नु एउटा असल छिमेकीका गुण हुन सक्दैनन् । तर आफूभन्दा धेरै पुरानो इतिहास बोकेको मुलुक नेपालका लागि भारतले आफ्नो स्वार्थ पूरा नहुँदा यस्तै व्यवहारहरू देखाउँदै आएको छ । नेपालको आन्तरिक मामिलामा सूक्ष्म व्यवस्थापनको अभ्यास गर्ने र आफ्नो योजना सफल नहुँदा विभिन्न किसिमका चुनौतीहरू खडा गरिदिने भारतीय व्यवहारले ऊ एउटा क्रूर र संवेदनहीन छिमेकी मात्र बनिरहेको बुझ्न सकिन्छ ।

पछिल्ला घटनाक्रमहरूलाई नै हेर्ने हो भने पनि सरकारले पाँच नम्बर प्रदेशसहितका जिल्लाहरूलाई पहाडबाट टुक्र्याउने लगायतका बुँदासहितको संविधान संशोधनको प्रस्ताव अघि बढाउँदा सुरुमा आन्दोलनरत मधेशी मोर्चाले त्यसलाई स्वीकार गरेनन्, तर जब भारतीय दूतावासले दबाब दियो मधेशी मोर्चा एकाएक उक्त प्रस्ताव स्वीकार्न तयार देखिए । यसले स्पष्ट गर्दछ भारतको चासो नेपालको राजनीतिमा कुन तहमा पुगेको छ रु हालै सरकारले संविधान संशोधन नगरी निर्वाचन प्रक्रिया अघि बढाएको छ । संसद्को दोस्रो र चौंथो ठूलो दलले सरकारले ल्याएको प्रस्तावअनुसार संविधान संशोधनमा समर्थन नगरेपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन सहज पनि छैन । तर मधेशी मोर्चा भने निर्वाचन नेपालकै हितमा नभएजस्तै गरी निर्वाचनको विरुद्धमा उत्रिने तथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रक्रियामा अघि बढेको छ । यस सन्दर्भमा पनि मोर्चा आफैले निर्णय गरेको हो भनेर पत्याउने अवस्था छैन । यसमा पनि स्वार्थ छिमेकी मुलुककै देखिन्छ । आफूले उठान गरेका एजेण्डा र मागका बारेमा समेत आफैलाई पत्तो नभएका र भारतकै आधिकारिक धारणालाई आफ्नो धारणा बनाउने मधेशी दलका नेताहरूका कारण भारतलाई नेपालमा खेल्नका लागि थप सहयोग पुगिरहेको छ ।

भारत दक्षिण एशियामा एउटा शक्ति केन्द्रका रूपमा उदाइरहेको मुलुक हो । तथापि छिमेकी मुलुकहरूसँगको कटू सम्बन्धका कारण कुनै पनि छिमेकी मुलुकले उसको हैसियतलाई सहजै स्वीकार्ने अवस्था देखिँदैन । बरु उसको दम्भका कारण छिमेकी मुलुकहरू उसका लागि थप चुनौती बन्दै गइरहेका छन् । पछिल्लो समय अन्य मुलुकको तुलनामा सकारात्मक सम्बन्ध रहेको नेपाल र नेपालीहरूमा भारतप्रति बढ्दै गइरहेको नकारात्मक भाव त्यसैको एउटा उदाहरण हो । नेपालमा भारतले अनावश्यक चासो र चलखेल गर्छ भन्ने कुरा वृद्धदेखि बच्चासम्मले पनि बुझिसकेका छन् ।

भारतका यस्तै व्यवहारहरूले गर्दा भारतप्रति नेपालीहरूमा नकारात्मक सोचको विकास गराएको छ भने नेपालमा भारतविरोधी भावना पनि तीव्र रूपले विकास भइरहेको छ । यो एउटा शक्तिकेन्द्रका रूपमा उदाउँदै गरेको भारतका लागि शुभसंकेत अवश्य होइन । किनभने भारतकै कारण कश्मिरमा उत्पन्न संकटको सबैभन्दा ठूलो क्षति भारतले भोग्नु परिरहेको छ । तथापि नेपाल मामिलामा भारतसँग अझै पनि सम्बन्ध सुधारका लागि एउटा ठूलो अवसर छ, त्यो हो हाल राजनीतिक अस्थिरताको अन्त्य गर्दै स्थिरतातर्फ प्रवेशको प्रयास गरिरहेको नेपालमाथि भारतले हस्तक्षेप बढाउनुको सट्टा समस्या समाधानका लागि आफ्ना कठपुतली बन्न तयार भइरहेका मधेसी दलका नेताहरूलाई सम्झाएर सहयोगी भूमिका निर्वाह गर्न सक्छ । स्थिर नेपालका लागि सहयोग गर्ने र विगतमा जस्तो सूक्ष्म व्यवस्थापनको अभ्यासलाई रोक्ने हो भने अहिले पनि भारत नेपाललाई असल मित्र बनाउन सक्छ । त्यो अवसर बाँकी नै छ । त्यसको विपरीत निरन्तर रूपमा नेपालको आन्तरिक मामिलामा खेल्न खोज्ने हो भने नेपाल भारतका लागि विस्फोटक डाइनामाइट बन्ने निश्चित छ । यसतर्फ भारतीय बुद्धिजीवीहरूको ध्यान पुग्न आवश्यक छ ।

सम्बन्धित समाचार