सिलिचोङ एम्बुलेन्स प्रकरणः के अरुण नदि नै बाधक हो त ?



अरुण तेश्रोले प्रभावित क्षेत्रलाई भनेर तीन वटा एम्बुलेन्स दिने भनेको थियो र सोही अनुसार सिफारिस भएको भनिएको छ । प्रभावीत क्षेत्र मध्ये मकालु गाउँपालिका, चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स प्राप्त हुने भनिएको थियो ।

तर, सडक सञ्जाल नजोडिएको भन्दै सिलिचोङको नाममा आउने एम्बुलेन्स खाँदबारी र तुम्लिङटारमा राख्ने कुरा अगाडी बढेको हो । यसको मतलव सिलिचोङलाई प्राप्त हुने एम्बुलेन्स अन्यत्र नै लैजान लागिएको हो ।

हो, अरुण नदिमा पक्की पुल नभएको कारण सडक सञ्जालले जोडिएको छैन, तर अरुण पारि करोडौ रकम खर्चेर सडक बनाईएको छ, के त्यस्को उपयोगिता छैन ? ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रदेखि सिधै अरुण पुलसम्म यो हिउँददेखि निर्वाध रुपमा सवारी सञ्चालन हुँदैछ, के त्यो त्यो क्षेत्रमा एम्बुलेसन्स राख्न सकिन्न ? दुई मिनेटको समय लगाएर पुल तारेपछि फेखि खाँदबारी नगरपालिकामा पर्ने हेलुवाबेँशीदेखि सडक छँदैछ त । के एम्बुलेन्सको बाधक अरुण नदि नै हो त ? प्रश्नै प्रश्न छ ।

सिलिचोङ गाउँपालिका १, २ र ३ वडाको संगम स्थल बुधबारे (सिसुवाटार) मा नै एम्बुलेन्स राख्ने हो भने गत बर्षदेखि नै बुधबारे छब्बीसपुल (हेलुवाबेँशी पारी) सम्म सडक सञ्चालनमा छ । अहिले पनि त्यहाँबाट पुरानो गाडीमा राखेर बिरामी ल्याईरहेका छन नै, दुई मिनेटको समयमा पुल तारेपछि फेरी गाडीबाट नै खाँदबारी अस्पताल ल्याई पुराउँछन् । के त्यहाँ एम्बुलेन्स गुड्न सक्दैन ? त्यसैले, प्रस्तावित एम्बुलेन्स जहाँको त्यहीँ हुनु पर्दछ ।

अति पछाडी परेको सिलिचोङ क्षेत्रमा भोट माग्ने क्रममा शिक्षा, स्वास्थ्य, यातायात लगायतको विकासका पुर्वाधारहरुको सुनिश्चितता गराउने भन्दै भाषण दिएका जनप्रतिनिधीहरुले यस्ता सुविधा काटौटी गर्दै जाने हो भने के अर्को पटक नागरिकले उत्तिकै विश्वास गर्लान् ? यता तर्फ पनि सोँच्न आवश्यक छ । यस विषयमा स्थानीय जनप्रतिनिधी, जिल्ला स्तरका जनप्रतिनिधी, प्रदेश र संघिय प्रतिनिधीहरु लगायत राजनितिक दलहरुले बेलैमा सोँच्नु पर्ने देखिन्छ । ‘जो सोझो उसैको मुखमा घोचो’ भन्ने उखानलाई कसैले पनि चरितार्थ गर्नु हुन्न ।

सम्बन्धित समाचार