मानेभञ्ज्याङ-हेलुवाबेँशी सडक ठेकेदारको चरम लापरवाहि कहिलेसम्म हेरिरहने ?



बर्षातकाे समयमा हेलुवाबेँशी-मानेभञ्ज्याङ सडककाे अवस्था ।

संखुवासभा जिल्ला सदरमुकाम खाँदबारीबाट सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने सडक कालोपत्रेको ठेक्काको म्याद गत कातिक ४ गते सकियो । म्याद सकिए लगत्तै २०८१ बैशाख ४ गतेसम्मको लागि म्याद थपियो ।

म्याद थप्ने बेलामा एउटा स्काभेटर ल्याएर छेउकुना कोट्याउन थाले पनि म्याद थपिएसँगै लापत्ता भएको निर्माण कम्पनी याक्थुमहाङ खाम्पाचे जेभि आधा हिउँद सकिन लाग्दा समेत काममा फर्किएको छैन ।

ठेक्का लगाएको भौतिक पुर्वाधार कार्यालय सङ्खुवासभाको अनुसार हालसम्म मुभिलाईजेशन वापत ७ करोड ७६ लाख सहित २० करोड ३१ लाख रुपैयाँ भुक्तानी लिईसकेको छ । २०७७ साल कातिक ४ गते याक्थुमहाङ खाम्पाचे जेभीले ठेक्का सम्झौता गरेको १४ दशमलव ५ किलोमिटर सडकको जम्मा लागत ४४ करोड ७ लाख रुपैयाँ रहेको छ । जम्मा लागत रकमको करिव आधा रकम भुक्तानी लिईसकेको निर्माण कम्पनीले काममा भने चासो नदिएको यत्रतत्र गुनासोहरु छन् ।

यस सडकको प्रत्यक्ष सरोकार राख्ने सिलिचोङ गाउँपालिकाले पटक पटक सम्पर्क गर्दा विभिन्न बहाना बनाएर पञ्छिने गरेको जनप्रतिनिधीहरु बताउँछन् । हरेक समस्याहरुको समाधानका लागि आफुहरु तयार रहेको बताउँदा पनि काममा कुनै चासो नदिएको सिलिचोङ गाउँपालिका २ का वडा अध्यक्ष मोहन सम्सेर कुलुङ बताउनुहुन्छ । ठेकेदार तेजकुमार कुरुम्बाङलाईले बालुवा, रोडा लगायतको सामान ल्याउन समस्या भएको बताएपछि अरुण नदिबाट निशुल्क ल्याउन दिने वातावरण बनाएर उनलाई खबर गरेपनि अहिलेसम्म काममा नफर्किएको अध्यक्ष कुलुङ बताउनुहुन्छ ।

स्थानीय सरोकारवालाहरुले सक्दो सहयोग गर्ने वातावरण तयार गर्दा पनि ठेकेदार काममा फर्कन नचाहनुको पछाडीको रहस्य के छ ? यसरी काममा चरम लापरवाहि गर्दा पनि नियमक निकाय र माथिल्लो निकायका सरोकारवालाहरुले कुन रुपमा चासो लिएका छन् ? फिल्डमा काम नहुनु वा ठेकेदारले काम नगर्नुमा कतै मिलेमतो त छैन ? नागरिकहरुमा अनेकन प्रश्न उब्जिन थालेको छ ।

तसर्थ, ठेक्का लगाउने निकाय भौतिक पुर्वाधार कार्यालय मात्र नभएर सम्बन्धित स्थानीय तह खाँदबारी नगरपालिकाले पनि यस विषयमा गहन रुपमा चासो लिनु पर्दछ । जिल्लाको सम्पुर्ण क्षेत्रमा समन्वयको महत्वपुर्ण भुमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति चुप लागेर बस्ने कुरै भएन । हिजो अस्ति मात्र निर्वाचन जितेर गएका माननीयहरुले कस्तो भुमिका खेलिरहेका छन् ? भनेर आम नागरिकहरुले सोधीखोजी गरिरहेका छन् ।

यदि यो आयोजना सम्पन्न हुन नसके ठेकेदार मात्र होईन यी सवै सरोकारवालाहरु जवाफदेहि हुनु पर्नेछ ।

सम्बन्धित समाचार