अस्तब्यस्त खाँदबारी अस्पताल, कहिले सुध्रिने ?




जिल्लाको सवैभन्दा सुबिधा सम्पन्न भनिएको खाँदबारी अस्पतालमा कहिले खानेपानीको समस्या त कहिले औषधी अभावका कारण एक न एक समस्या आईरहन्छन् । कर्मचारी तथा स्वास्थ्यकर्मी ब्यवस्थापनको समस्या त मुख्य नै देखिन्छ । अस्पताल भित्रका कर्मचारी तथा स्वास्थ्यकर्मीको ब्यावहारको बारेमा पनि गुनासो आईरहन्छ । नर्सहरु विचको दुई पक्षिय द्वन्द्व पनि चर्चाको विषय बन्ने गरेको छ भने स्थानीय कर्मचारीहरुले बाहिरबाट आउने चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुलाई गर्ने ब्यावहारको बारेमा त भन्नै पर्दैन ।

जिल्ला बाहिरबाट आएर अस्पताल प्रमुख समेत रहेका सर्जन डाक्टरलाई हातपात समेत गरेका थिए । फलतः सल्यकृयाको सुरुवात गर्ने उक्त डाक्टर अन्यत्र जान बाध्य नै पारे । यस्ता गतिविधीलाई लिएर अन्यत्र सरुवा गराई पठाएका केही स्थानीय स्वास्थ्यकर्मीलाई पुनः खाँदबारी अस्पतालमा नै फर्काएर ल्याउछन् । यसमा स्थानीय राजनितिक दलका नेताहरुको ठुलो हात रहेको पाईएको छ । यस्तो विषयलाई लिएर हालै अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले स्थानीय एक रेडियोमा बोल्दै त्यस्को समाधान गर्ने बताउनुभएको थियो । तर, सुधारको सुरुवातीको साटो झन खस्कीदै गएको हो की भन्ने भान पर्न थालिसकेको छ । यसको ज्वलन्त उदाहरण पछिल्लो समय पटक पटक हुदै आएको प्रसुती सेवा अवरुद्ध ।

खाँदबारी अस्पतालमा फेरी प्रसुति सेवा नियमित नहुँदा सेवाग्राहीले चरम दुख पाउँदै आएका छन् । अहिले खाँदबारी अस्पतालमा संखुवासभा र भोजपुरका गरि दैनिक आधादर्जन बढि प्रसुति सेवाका लागि आउने गर्दछन् । प्रसुति सेवा लिन आएकाहरु दक्ष चिकित्सक अभावका कारण लाखौं रुपैंयाँ खर्च गरेर धुलेबाटो छिचोल्दै तेह्रथुमको बषन्तपुर र धनकुटाको पाख्रिबास, हिले हुँदै करिव १ सय ५० किलोमिटरको दुरीमा रहेको सुनसरीको धरान र काठमाण्डौसम्म जानुपर्ने बाध्यता रहेको छ ।

निक साईमन संस्थाका तर्फबाट नियुक्त भएका २ जना चिकित्सक मध्ये डाक्टर युवराज बस्नेत आफ्नो सम्झौता अनुसारको सेवा अवधी पुरा गरि अन्यत्र गएको र डा. शैलिका श्रेष्ठ घरायसी विदामा बसेको बताईएको छ । अस्पताल ब्यवस्थापन र स्थानीय निकायहरुले समयमा उचित ध्यान दिन नसक्दा समस्या उत्पन्न हुने गरेको स्थाानियको आरोप छ ।
प्रसुति सेवा जस्तो संबेदनशिल बिषयमा समेत अस्पताल ब्यवस्थापनले उचित ध्यान नदिंदा ज्यान जोखिममा राखेर अन्यत्र लैजाँदा लाखौंको ऋण ब्यहोर्न पर्ने अवस्था आएको चैनपुर ११ कि सिता त्रितालको भनाई छ । ‘प्रशुती सेवा लिन आएकी थिएँ अहिले सेवा ठप्प रैछ अव के गर्ने कसलाई गुहार्ने’, उनको दुखेसो छ ।

उनीमात्र हैन गत सोमबार देखि चिकित्सकको पर्खाईमा रहेकी मकालु ३ कि सुधा राई पनि यतिवेला बिचल्लीमा परेकी छिन् । सेवा उपलब्ध हुन्छ भन्ने सुनेर सामान्य तयारीमा आएकी उनि सेवा नपाएपछि कहाँ जाने भन्ने चिन्तामा परेकी छिन् । जहाज चढ्ने खर्च छैन, टिकट पाउन पनि मुस्कील छ । पाईहाले पनि अन्य खर्च जुटाउने परिवारसंग केही उपाय छैन । गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने सरकारको घोषणा भएपनि जिल्ला सदरमुकाममा समेत सेवा पाउन नसक्दा उनी आक्रोशित छिन् ।

खाँदबारी अस्पतालमा संखुवासभा र भोजपुरका अधिकांश क्षेत्रबाट प्रसुति लगायत अन्य स्वास्थ्य सेवा लिन बिरामीहरु आउने गर्दछन् ।

सम्बन्धित समाचार