खाँदबारीका पन्ध्र मोहीले जग्गा पाएपछि हर्सित



जग्गा धनी लालपुर्जा देखाउदै भिमबहादुर विश्वकर्मा । तस्विरः ध्यान कुलुङ

सङ्खुवासभा । खाँदबारी ८ का भिमबहादुर विश्वकर्मा केही दिन अघिसम्म सुकुम्बासी हुनुहुन्थ्यो । उहाँको नाममा एक टुक्रा जग्गा थिएन । तर अब उहाँ पनि घर जग्गाको मालिक बन्नुभएको छ । त्यस्तै, उहाँका छिमेकी कमला विश्वकर्माको पनि कथा उस्तै छ । आफ्नो नाममा जग्गा नहुँदा भुकम्पले भत्काएको घर बनाउन समेत पाएका थिएनन् ।

उहाँहरु जस्तै खाँदबारी ८ डाँडागाउँ टोलका १५ परिवार हालैबाट जग्गा धनि बनेका छन् । ६ दशक अघिदेखि गुठीको जग्गामा बस्दै आएका उक्त परिवारहरुलाई हालै मोहियानी हक अन्तर्गत उनीहरुले आवाद गर्दै आएको जग्गा उनीहरुकै नाममा दर्ता गरिएको छ । उनीहरुले उपभोग गर्दै आएको जग्गा आफ्नै नाममा राजिनाम पास भएपछि यतिबेला उनीहरुमा खुसिको सिमा छैन । यस अघि पनि पटक पटक प्रयास गरेका स्थानीय मोहीहरुले जग्गा पाएपछि बल्ल ढुक्कको सास फेर्न थालेका हुन् । स्थानीय कमला विश्वकर्माले भन्नुभयो, ‘यस अघि त कुन दिन उठेर हिड्नु पर्ने हो की जस्तो लागेको थियो, अब चै हामी यहि ठाउँको नागरिक जस्तो लाग्न थालेको छ ।’

मोही मध्ये तीन परिवारको घर भुकम्पले क्षति पुराएपछि लाभग्राहीमा परेको भएपनि आफ्नै नामको धनिपुर्जा नहुदा सेवाबाट बञ्चित भएका थिए । हालैबाट जग्गा आफ्नो नाममा आएपछि उनीहरुले पुननिर्माणको काम अघि बढाएका छन् । ‘जग्गा पनि पायौं, अब घर बनाएर आफ्नै घरमा बस्ने भयौं’, अर्का स्थानीय रुद्रबहादुर दर्जीले भन्नुभयो । जग्गा प्राप्तीको लागि लाग्ने खर्च भन्दै पर्याप्त रकम समेत सङ्कलन गरेर पठाएपनि केही सिप नलागेको बताउदै यस पटक वडा अध्यक्षको पहलमा कुनै फाल्टो खर्च नगरि जग्गा पाएको उनीहरु बताउछन् । उनीहरुको लागि वडा अध्यक्ष ठुलो सहयोगी बनेको दावी गर्छन् ।

मोहीहरुको माग र समस्याहरुको बारेमा आफु बर्षौदेखि जानकार रहेको र यस अघि पनि पहलको प्रयास गरे पनि सम्भव नभएको वडा नम्बर ८ का अध्यक्ष डम्बर कटुवालले जानकारी दिनुभयो । यस अघि केही ब्यक्तिले जग्गा मिलाईदिने भन्दै रकम सङ्कलन गरे पनि उनीहरुले जग्गा नपाएको, अनावश्यक खर्च मात्र भएको समेत कटुवालले बताउनुभयो । गत स्थानीय निर्वाचनबाट निर्वाचित भएर अधिकार प्राप्त भएपछि स्थानीय मोहीहरुलाई जग्गा दिलाउन सफल भएको अध्यक्ष कटुवालले बताउनुभयो ।

यहाँका केही नागरिकहरु सिंहेश्वर महादेव गुठीको नाममा रहेको जग्गामा बस्दै आएका थिए । अझै केही परिवारहरु यस गुठीको जग्गामा बस्दै आएको भएपनि प्राविधिक कारणले जग्गा पास गर्न ढिलाई भएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो । नेपाल एकिकरणको क्रममा पृथ्वी नारायण शाहले यस क्षेत्रका किराती राजालाई पराजय गरेपछि कब्जा गरेको जग्गालाई स्थानीय सिंहेश्वर महादेवको नाममा राखिएको गुठी सञ्चालक समितिका कोषाध्यक्ष दिपक कटुवालले जानकारी दिनुभयो । यस गुठीको नाममा झण्डै तीन हजार २ यस रोपनी जग्गा रहेको समेत उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार