रसुवागढी सुरुङबाट १७ जनाकै सकुशल उद्धार



रसुवा : रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा थुनिएका १७ मजदुरको सकुशल उद्धार गरिएको छ।  बिहीबार साँझ साढे ८ बजे निर्माणस्थलमा पहिरो खस्दा सुरुङको १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको शुक्रबार बिहान ७ बजे उद्धार सम्पन्न गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। प्रजिअ भण्डारीका अनुसार सबै मजदुरको सकुशल उद्धार गरिएको छ।

सुरुङ मार्गमा अक्सिजन प्रवाह भइरहेकाले मजदुरहरुको स्वास्थ्यमा कुनै खराबी नभएको स्वास्थ्यकर्मीहरुले जनाएको प्रजिअ भण्डारीले बताए। उद्धार गर्ना साथ मजदुरहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। थुनिनेमध्ये ११ जना नेपाली र ६ जना चिनियाँ मजदुर थिए।  सुरुङ निर्माणस्थलमा पहिरो जानेक्रम पनि चलिरहेकाले आयोजना निर्माणको काम अहिले रोकिएको छ। माथिबाट ढुंगा खसिरहेकाले काम रोकिएको र ढुंगा खस्न छाडेपछि काम सुरु हुने आयोजनाले जनाएको छ।

थाहा खबरबाट 

सम्बन्धित समाचार