एक महिनाको घरभाडा नदिएर वडा कार्यालय अन्यत्र सार्न खोजेको भन्दै घरबेटीले लगाए वडा कार्यालयमा ताला



काठमाडौँ  । एक महिनाको घरभाडा नदिएर वडा कार्यालय अन्यत्र सार्न खोजेको भन्दै घरधनिले तालाबन्दी गरेका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम चुक्ता नगरी कार्यालय सार्न खोजेपछि घरधनि गोविन्द खड्काले तालाबन्दी गरेका हुन् ।

उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि घरधनीले तालाबन्दी गरेका हुन्, रकम नदिएरै घर सार्नु राम्रो होइन ।”

वडाका वडाध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महीना घरभाडाबापतको रकम दिँदै आएको दाबी गर्नुभयो ।

“घर भाडाको रकम प्रत्येक महीना दिएकै छौँ, साउनको बाँकी छ”, उहाँले भन्नुभयो, “कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन, किन ताला लगाए मैले नि बुझेको छैन ।”

वडा कार्यालयमा तालाबन्दी गरिएपछि वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन् । घरधनी गोविन्द खड्काले घरभाडा नदिएकाले आफूले तालाबन्दी गरेको स्वीकार गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “कही घर नपाएको बेला मेरो घरभाडामा लिएर बस्ने अहिले भाडासमेत नदिएर अफिस सारेकाले तालाबन्दी गरेको हुँ, मेरो भाडा आए ताला खोल्छु ।”

वडा कार्यालयको भाडाबापतको मासिक रकम कर कट्टीबाहेक ?पाँच हजार २०० सम्झौता भएको बताइएको छ ।

सम्बन्धित समाचार