डिएस्पीले शारिरिक यातना दिएको भन्दै स्थानीय आक्रोसित, क्षतिपुर्तीको माग




खाँदबारी । पत्रकार रवि लामिछानेको समर्थनमा कार्यक्रम गर्न लागेको भन्दै खाँदबारीका तीन जनालाई पक्राउ गरेर जिल्ला प्रहरी प्रमुखले शारिरिक यातना दिएको भन्दै उद्योग बाणिज्य संघ संखुवासभाले जिल्ला प्रसासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुलाई जबरजस्ती पक्राउ गरि प्रहरी कार्यालयमा डिएस्पी मिमबहादुर लामाले हातपात गरेपछि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

पचास भन्दा बढी खाँदबारीका नागरिकहरु जिल्ला प्रसासन कार्यालयमा पुगेर डिएस्पी लामालाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाईएको हो । शान्तिपुर्ण तरिकाले माग राख्न पाउने, प्रदर्शन गर्न पाउने लगायतका संबैधानिक अधिकार विपरित उनीहरुलाई धरपकड गरिएको सङ्खुवासभाका नागरिक अगुवाहरुले बताएका छन् । ज्ञापन पत्र बुझाउदै नेपाल मानव अधिकार संगठन सङ्खुवासभाका अध्यक्ष रुद्रनाथ दाहाले प्रसासनले क्षेत्रअधिकार नाघेको आरोप लगाउनुभयो । नागरिकहरुलाई घरैबाट पक्राउ गरि अनाहकमा यातना दिनु सरासर गलत भएकोले प्रहरीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।

जिल्ला प्रसासन कार्यालयमा बोल्नु हुँदै नागरिक समाजका अगुवा चित्ररेखा अधिकारीले ठुलो बलिदान पछि प्राप्त भएको लोकतन्त्रमा नागरिकले बोल्नै नपाउने वातावरण बनाईनु दुखद रहेको बताउनुभयो । यस्तो कृयाकलाप जो कोहीले बन्द गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला प्रसासन कार्यालयमा उपस्थित भएका तीन पिडकहरुले आफुहरु न्यायको खोजीमा रहेको बताएका छन् । केही बोल्ने मौका समेत नदिई एक्कासी मुक्का प्रहार गरेको उनीहरुको भनाई छ । स्वतन्त्रपुर्वक बाँच्न पाउने अधिकार विपरित कुटपिट गरेर आफ्नो आत्मसम्मानमा चोट पुगेकोले डिएस्पीले आम माफी माग्नु पर्ने पिडितहरुले माग गरेका छन् ।

जिल्ला अधिकारी जीवन प्रसाद दुलालले यस घटनाको बारेमा जिल्ला प्रहरी प्रमुखसँग वास्तविक कुराको जानकारी लिएर थप छलफल गर्ने बताउनुभएको छ । त्यसको लागि पिडितहरुको पक्षबाट पनि प्रतिनिधी मुलक रुपमा सहभागी भएर छलफल गर्ने बताएपछि सोहि विषयमा सहमती भएको छ । यस विषयमा मंगलबार दुवै पक्ष विच छलफल गर्ने भएको छ ।

सम्बन्धित समाचार