पासोमा फसेको भालुको उद्धार



सोलुखुम्बु ।  सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीमा चार दिनदेखि पासोमा फसेको भालुको उद्धार गरिएको छ। स्थानीयले थापेको पासोमा फसेको भालुको सोमबार चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु प्राविधिक टोलीले उद्धार गरेको हो।

सोमबार दिउँसो वन्यजन्तु उद्धार टोलीले सिरिन्जको प्रयोग गरी बेहोस बनाएर भालुको उद्धार गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार भालुको पेटमा तारले चोट लागेकाले उपचार गरिने छ।  उद्धार गरिएको भालु अहिले सदरमुकाम सल्लेरीमा राखिएको छ।

उक्त भालुलाई सखर नगर वन विहार तथा अनुसन्धान केन्द्र रुपन्देहीमा लगिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए। उद्धारका क्रममा प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, प्रहरी नायब उपरीक्षक नारण चिमोरिया, डिभिजन वन कार्यालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटा, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा लगायतको टोली तामाखानी पुगेका थिए।

प्रमुख जिल्ला अधिकारीसहितको टोली तामाखानी पुगेपछि स्थानीयले भालु आतंकका कारण आफुहरु आजित भएको भन्दै नियन्त्रणको माग समेत गरेका थिए। भालु हेर्नका लागी जम्मा भएका करिब ७०० भन्दा बढी स्थानियवासीले भालु नियन्त्रणको माग गर्दै केही बेर अवरोध समेत गरेका थिए। कृषकले लगाएको मकैबाली रातको समयमा आएर भालुले सखाप पारेपछि स्थानियले नियन्त्रणमा लिन ट्रयाप थापेको किसान अमर राजभण्डारीले बताए।

उनीहरुले बारम्बार जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालयमा भालु नियन्त्रण गरी स्थानीयको सुरक्षा र अन्नबालीको संरक्षण गर्न माग गर्दै आएका छन्। यस क्षेत्रमा भालुको अक्रमणबाट बर्सेनि दर्जनौं मानिस घाइते हुने गरेका छन्। घाइइतेकोे उपचारमा समेत राज्यले समयमानै उपचार खर्च उपलब्ध नगराउँदा समस्या हुने गरेको पीडितको भनाइ छ।

सम्बन्धित समाचार