बालुवा र माटाेको तस्करीले महानगरपालिकाकै खोला असुरक्षित



विराटनगर ।  प्रदेश १ को राजधानी विराटनगरमा सुरक्षाका संयन्त्र केन्द्रित छन्। जनप्रतिनिधि जागरुक छन्, स्थानीय आफैं सचेत छन्। राजधानी भएकै कारण प्रदेश सरकारका मन्त्रालयदेखि विभिन्न सरकारी निकाय यही स्थापित छन्। तर, सरकारले प्रतिबन्ध लगाएको खोलाजन्य वस्तुको उत्खनन् कार्य महानगरपालिकाभित्रै दिन दहाडै भइरहेको छ।

सोमबार बिहानै ३४ वटा कृषि प्रयोजनका ट्याक्टर खोलाको डिलमा लस्कर लागे। कोही खोलाको माटो भर्न लागे त कोही बालुवा भर्न। स्थानीयको सूचना पाएपछि सम्बन्धित स्थलमा पुगेको प्रहरी देखेपछि खोली ट्याक्टरहरू भागे भने ४ वटा प्रहरीले नियन्त्रणमा लिएको थियो। आधा भरेको एउटा ट्याक्टर पनि भाग्न सफल भएको प्रहरीको दाबी छ। मोरङ प्रहरीले सोमबार खोलाको अवैध रुपमा माटो उत्खनन् गरी लोड गरिएको अवस्थामा को २ त ३०६१, को १ त ४११५, को १ त ५७७४ र को २ त ५०३२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

 यो क्रम अहिले मात्रै खोलाजन्य वस्तुको उत्खनन् प्रतिबन्ध लगाए पनि वैशाखदेखि नै यहाँ लुकी चोरीको नाममा खुलेआम सेटिङमा तस्करी भइरहेको छ। समूहगत उत्खननमा जुटेको गिरोहले केशलिया खोलाको बहाव नै परिर्वतन गरेर उत्खनन् गरिरहेको हो। उत्खनन् गर्ने गिरोहले सो ठाउँमा सयौं मिटर क्षेत्रफलमा गहिरो खाडल पर्नेगरी उत्खनन गरेर भरौट बेच्दै आएका छन्। जसका कारण केशलिया खोलाको मूल वहावलाई साबिकभन्दा पूर्वतर्फ मोडिएको स्थानीय बताउँछन्।

दिन दिनै खोला तस्करी भएको विषयमा औपचारिक रुपमा स्थानीय पनि बोल्न डराउँछन्। खोलाजन्य पदार्थ निकाल्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गर्नुपर्ने नियम छ। यस्तै सम्बन्धित स्थानिय तहहरुले ठेक्का लगाएपछि मात्र निर्धारित मापदण्ड अनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम रहे पनि ती सबै नियमलाई उल्लंघन गर्दै उत्खनन् भइरहेको छ।

कहिले हाते औजारले त कहिले ठूला मेसिन लगाएर पनि खोला किनार खनिने गरेको स्थानीय बताउँछन्। खोलाको बगरभन्दा झण्डै ५ सय मिटर उत्तर अवस्थित पुल छेउमा समेत पुललाई प्रतिकूल असर गर्नेगरी माटो काटिएको छ। खोला किनारको डिल काटिएको कारण सो ठाउँमा जुनसुकै बेला भत्कन सक्ने सम्भावना छ।

सम्बन्धित समाचार