अन्तत: सिलिचोङले पायो एम्बुलेन्स



एम्बुलेन्सको साँचो बुझिलिएपछि फोटो खिचाउँदै पुर्व स्वास्थ्य राज्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष कुलुङ ।

काठ्माण्डौ । एक बर्ष अघि नै अरुण तेश्रो प्रभावित स्थानीय तहहरुलाई अरुण तेश्रो परियोजनाले एम्बुलेन्स दिने भनिएको थियो । प्रभावित स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिका पनि एक हो ।

चिचिला र मकालु गाउँपालिकाले एम्बुलेन्स पाएपनि सिलिचोङलाई दिने भनिएको एम्बुलेन्स अन्यत्र नै दिने भन्दै कटौटी भएपछि सिलिचोङका जनप्रतिनिधीहरु मात्र नभएर सारा गाउँवासी दुखि बनेका थिए । तर निक्कै लामो प्रयासपछि सिलिचोङ गाउँपालिकाले पनि एम्बुलेन्स पाएको छ । उक्त एम्बुलेन्स दुतावासले आज गाउँपालिकालाई हस्तान्तरण गरेको छ । एम्बुलेन्सको साँचो आज (बिहिबार) सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बुझिलिनुभएको हो ।

एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा प्राप्त भएको हो । अरुण तेश्रो प्रभावित क्षेत्र भएकोले अरुण तेश्रो परियोजनाको पनि सहयोग रहेको गाउँपालिका अध्यक्ष कुलुङले जानकारी दिनुभयो । यस अघि सिलिचोङले पाउने भनिएको एम्बुलेन्स कटौटी भएपछि सवै तह र क्षेत्रका ब्यक्तिहरुसँग पटक पटकको गुनासो पछि यस पटक एम्बुलेन्स प्राप्त भएको अध्यक्ष कुलुङको भनाई छ । एम्बुलेन्स प्राप्त गर्नको लागि जिल्लाका सांसदहरु, राजनितिक दलका नेताहरु र पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको पुर्ण सहयोग मिलेको बताउनुभयो । अध्यक्ष कुलुङले ईमकालु अनलाईनसँग कुरा गर्नुहुँदै सहयोगी सवैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

गाउँपालिकालाई प्राप्त एम्बुलेन्सबाट आफ्ना नागरिकहरुलाई सेवा प्रबाहमा सहजता मिल्ने अध्यक्ष कुलुङको दावी छ । जिल्ला अस्पतालसम्म सिधा बाटो नभएकोले केही समस्या भएपनि विरामीहरुलाई ठुलो राहत मिल्ने कुलुङले बताउनुभयो । अरुण नदिमा मोटरेबल पुल नभएकोले खाँदबारी अस्पतालसम्म सडक पहुँच पुगेको छैन । यद्धपी टुक्रे सडकमा भएपनि विरामीलाई सहजता मिलेको उहाँको भनाई छ ।

सम्बन्धित समाचार