दुई क्रसर उद्योग बन्द, नौं पुलको निर्माण ठप्प



सङ्खुवासभा, साउन २४ गते । जिल्लाको मकालु मा स्थापित दुई क्रसर उद्योग बन्द गरिएपछि त्यस क्षेत्रको निर्माण कार्य प्रभावित भएको छ । क्रसर उद्योग स्थापनाको लागि मापदण्ड नपुगेको भन्दै गत पुषमा नै मकालु बरुण राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएपछि त्यस क्षेत्रका निर्माण कार्य ठप्प भएको हो ।

त्यस क्षेत्रमा ९ वटा पुल निर्माणको लागि मकालु गाउँपालिकाको वडा नम्बर ३ सम्माटारमा स्काई–कार्की बन्धु जेभी र रौताह–एस.ए.एस. ले राखेको क्रसर उद्योग बन्द गरिएको हो । क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीहरुले कामलाई ठप्प पारेका छन् । सम्झौतामा नै स्थानीय स्तरमा उत्पादन गरिएको गिटी बालुवा प्रयोग गर्ने उल्लेख गरिएको र बाहिरबाट कच्चा पदार्थ ल्याउदा आर्थिक भार अत्याधिक हुने भएकोले काम गर्न नसकिएको निर्माण ब्यवसायी सन्तोष राईले बताउनुभयो । लागत स्टिमेटमा गिटी बालुवाको लागत स्थानीय स्तरको दर राखिएकोले अन्यत्रबाट ल्याउदा करिव दोब्बर नै महँगो पर्ने उहाँको भनाई छ ।

उत्तर दक्षिण कोशी सडक अन्तर्गत अरुण नदि (फ्याक्सीन्दा दोभान) भन्दा माथी फ्याक्रे खोला, नाङ् खोला, चोङ् खोला र जोर खोलामा पुल निर्माण गर्न सुरु गरिएको थियो । १५ करोड रुपैयाँमा स्काई–कार्की बन्धु जेभीले ठेक्का लिएको उक्त चार वटा पुल २० महिना भित्र निर्धारित कार्य सम्पन्न गर्ने गरि गत असोज १५ मा सम्झौता गरिएको थियो । उक्त सवै पुल क्रमागत अन्तर्गतका योजनाहरु हुन् ।

त्यस्तै उवा खोला, उहाङ् खोला र एकुवा खोलामा पुल निर्माणको लागि रौताह–एस.ए.एस. जेभीले १२ करोड रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको थियो । सोही खण्डको ठाडो खोला र उवा खोलामा पक्की पुल निर्माणको जिम्मेवारी रौताह कन्ट्रक्सन प्रालिले पाएको थियो । सो दुईवटा पुल १५ करोड ७० लाख रुपियाँमा निर्माण गर्नु पर्ने छ । उक्त सवै पुलहरु पनि क्रमागत योजनाहरु अन्तर्गतका हुन् ।

आवश्यक कच्चा पदार्थ उत्पादन नहुदाँ नौवटा पक्की पुल अलपत्र परेका छन् । उक्त सवै पुलहरुको जग खन्न सुरु गर्दा गर्दै क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीहरुले काम रोकेका हुन् । यसरी करिव एक बर्षसम्म काम अड्किएपछि निर्धारित समयमा काम सम्पन्न नहुने निर्माण ब्यावसायीहरुको भनाई छ । आफुहरुले लामो समयको लागि उद्योग नै सञ्चालन गर्ने गरि क्रसर सञ्चालनमा नल्याएको समेत रौताह कन्ट्रक्सन प्रालिका सञ्चालक सन्तोष राईले बताउनुभयो । वातावरणीय प्रभाव मुल्याङ्कन, अन्य प्राविधिक ब्यवस्थापन लगायतका सम्पुर्ण कामहरु सम्बन्धीत कार्यालयले गर्नु पर्ने भएपनि त्यसो नगरिएकोले आफुहरुलाई समस्या परेको राईको गुनासो छ ।

निर्माण कार्यमा विरोध आएपछि वातावरणीय प्रभाव मुल्याङकन गरिएको र प्रतिवेदन आउन बाँकी रहेको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रभाव मुल्याङ्कनको लागि परामर्शदाता खटाएर सम्पुर्ण अध्ययनका कामहरु सम्पन्न भईसकेकोले केहि दिनमा नै त्यस्को प्रतिवेदन आउने श्रेष्ठले बताउनुभयो । सकरात्मक प्रतिवेदन आए त्यस लगत्तै काम सुचारु हुने, वातावरणलाई प्रभाव पार्ने खालको भए थप छलफल गरेर अगाडी बढिने श्रेष्ठको भनाई छ ।

त्यस क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कन नगरि आफुखुसी क्रसर उद्योग सञ्चालन गरिएकोले सञ्चालनमा रोक लगाईएको निकुञ्जका सुचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । वातावरणीय हिसावले संवेदनशील क्षेत्रको रुपमा लिईएको मकालु क्षेत्रमा प्रभाव मुल्याङ्कन अति जरुरी भएपनि त्यसो नगरिएकोले रोक्नु परेको उहाँले स्पष्ट पार्नुभयो । अव वातावरणीय प्रभाव मुल्याङ्कन गराएर सकरात्मक प्रतिवेदन आएपछि रोक नलगाईने उहाँले जानकारी दिनुभयो ।

हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, नियम ३०, बमोजिम निकुञ्ज क्षेत्रमा कुनै पनि निर्माण कार्य गर्न नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको स्वीकृति लिनु पर्ने व्यवस्था रहेको रहेको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन नियामावली २०५२, नियम १७ का अनुसार वातावरणमा प्रतिकूल असर पर्न सक्ने गरी ढुङ्गा, माटो, बलुवा वा खानी खन्न वा कुनै खनिज पदार्थ, माटो वा अन्य यस्तै पदार्थहरु निकाल्न नपाईने ब्यवस्था छ । तर उक्त ब्यवस्थाहरु विपरित कार्य भएको निकुञ्जको ठहर छ ।

सम्बन्धित समाचार