नेपालको बाटोबाट भारत हुँदै भुटानसम्म यार्सागुम्बा तस्करी भारतमा तीन भुटानी नागरिक पक्राउ



झापा।  हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा नेपालको बाटोबाट भारत हुँदै भुटानसम्म तस्करी हुने गरेको रहस्य खुलेको छ ।

भारतीय सशस्त्र प्रहरी बल ५३ बी बटालियन (एसएसबी) र वन कर्मचारीको संयुक्त टोलीले सोमबार राति ५ किलो यार्सागुम्बासहित तीन जना भुटानी नागरिकलाई पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो । संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारत–भुटानको सीमावर्ती नाकास्थित जयगाँउ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । पक्राउ पर्नेहरूमा भुटानी नागरिक थिम्पुका छोटेन नामग्याल, दोर्जी कियांग केसबू र दोर्जी शामिल रहेको भारतीय एसएसबीले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि हैमिल्टनगञ्ज रेन्जर वन विभागलाई बुझाइसकेको जनाइएको छ । बरामद गरिएको यार्सागुम्बाको मूल्य करिब एक करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा नेपालबाट भारत हुँदै भुटान लगायत अन्य देशहरूमा समेत तस्करी हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । यार्सागुम्बा बहुमूल्य जडीबुटी हो । विभिन्न रोगको निवारणका लागि यार्सागुम्बा प्रयोगमा आउने गरेको वन कर्मचारीहरू बताउँछन ।

सम्बन्धित समाचार