५० शैयाको जिल्ला अस्पताल, एमबिबिएस डाक्टरको भरमा




सङ्खुवासभा । दुई बर्षअघिसम्म जिल्ला अस्पताल सङ्खुवासभा १५ शैयाको थियो । त्यो समयमा नवौं तहको चिकित्सकले सेवा दिएका थिए । अहिले ५० शैयाको अस्पताल हुँदा त्यो पनि घटुवा भएर आठौं तहका एम्बिबिएस डाक्टरहरुले मात्र सेवा दिईरहेका छन् ।

अस्पतालको स्तर बृद्धि भईरहदा दक्ष जनशक्तिको अभाव जिल्ला अस्पतालले भोगेको निक्कै समय भईसकेको छ । दक्ष जनशक्ति नभएपछि उच्च गुणस्तरको सेवाबाट सेवाग्राहीहरु बञ्चित भएका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा अस्पताल आएका विरामीहरुलाई अन्यत्र ‘रेफर’ गर्नुको विकल्प नरहेको अस्पताल प्रशासन बताउछन् । जटिल प्रकृतिका बिरामीहरु आए उपचार गर्न समस्या रहेको अस्पतालका निमित्त प्रमुख डाक्टर लक्ष्मण खड्काले जानकारी दिनुभयो । आफुहरुभन्दा सिनियर डाक्टर भए परामर्श गरेर जटिल रोगको पनि उपचार गर्न सकिने उहाँको भनाई छ ।

पचास शैयाको अस्पतालमा न्युनतम् ११ औं तहको चिकित्सक राख्नु पर्ने भएपनि हालसम्म सरकारले डाक्टर नपठाएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यको गुनासो छ । सरकारलाई पटक पटक विशेषज्ञ डाक्टरको माग गरेपनि अहिलेसम्म नपठाएको उहाँको भनाई छ । अझ डाक्टरहरुको समायोजनले हाल कार्यरत रहेको डाक्टरहरु पनि अन्यत्र जान लागेको उहाँको भनाई छ । समायोजनपछि सङ्खुवासभा आउने डाक्टरहरुको बारेमा अहिलेसम्म पनि कुनै जानकारी नआएको समेत उहाँले जानकारी दिनुभयो । ‘समायोजन पछि यहाँको डाक्टरहरु त जान्छन् नै, यहाँ आउने डाक्टरहरुको बारेमा कुनै जानकारी आएको छैन’, अध्यक्ष शाक्यले भन्नुभयो ।

अहिले खाँदबारी अस्पतालमा पाँच जना आठौं तह (एम्बिबिएस) का डाक्टरहरु कार्यरत छन् । त्यस बाहेक शल्यकृयाबाट बच्चा जन्माउनको लागि निक साईमन नामक संस्थाले उपलब्ध गराएको एम्डिजिपी डाक्टर पनि जिल्ला अस्पतालमा नै कार्यरत हुनुहुन्छ । तर उक्त डाक्टर शल्यकृया फाँटमा नै ब्यस्त रहनेहुँदा जेनेरल वार्डमा विरामीलाई हेर्न गरेको छैन । यसरी जिल्ला अस्पताल एम्बिबिएस डाक्टरको भरमा सञ्चालन गर्नुपर्दा गुणस्तरिय सेवा नागरिकले नपाएको ब्यवस्थापन अध्यक्ष शाक्य स्वीकार्नुहुन्छ ।

माथिल्लो निकायमा पटक पटक विशेषज्ञ डाक्टरका माग गर्दा पनि नपठाएपछि आन्तरिक श्रोतबाट माथिल्लो तहको चिकित्सक ल्याउने तयारीमा अस्पताल लागिपरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । १५ शैयाको भन्दा पनि कमजोर जनशक्ति भएकोले आन्तरिक श्रोतबाट भएपनि ११ औं तहसम्मको विशेषज्ञ डाक्टरको राख्न लागिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । आन्तरिक श्रोतबाट विशेषज्ञ राख्नको लागि प्रदेश सरकारले पनि बजेट दिने भएको शाक्यको भनाई छ । ‘अनेक प्रयास गर्यौ, विशेषज्ञ डाक्टर पाएनौ, भदौ महिना भित्र नै विशेषज्ञ डाक्टर ल्याउछौ’, अध्यक्ष शाक्यले भन्नुभयो ।

गोरखापत्र दैनिकबाट

मकालु अनलाईन टिभि पनि हेर्नुहोस ।

सम्बन्धित समाचार