रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक चितवन प्रहरी तनावमा



चितवन ।  न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक चितवन प्रहरी तनावमा परेको छ। रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको आरोप लगाइरहेकै बेला हिरासतमा लिइएको अडियो अन्तरवार्ता सार्वजनिक भएको हो। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।

उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वाही गर्ने बताएका हुन्। हिरासतमा रहेको व्यक्तिको धारणा अनाधिकृत रूपमा बाहिर लैजाँदा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भन्दै अनरवार्ता लिने व्यक्तिमाथि कानुनी कार्वाही गर्ने बताए। कस्ले, कसरी? सार्वजनिक गर्‍यो भन्नेबारे अनुसन्धान गरी कार्वाही गर्ने एसपी मल्लको भनाइ छ। रविलाई हिरासतमा भेट्न गएका एक जना सञ्चारकर्मीले अडियो अन्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी सञ्चारकर्मी रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरूमाथि दोस्रो पटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा गएको साउन २० गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

सम्बन्धित समाचार