तिहारसम्ममा नेपाल भारत रेल संचालनमा आउने



काठमाडौं ।  धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ। कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै दुई सय कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ। हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले बताए। कम्पनीमा हाल न्यून जनशक्ति छन्।

ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन यो रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। सरकारले भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया गत वर्ष अघि बढाएको थियो।

विभागका प्रवक्ता अमन चित्रकारले दुई महीनाभित्र रेल नेपाल आइपुग्ने बताए।  भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल खरीद गर्न लागिएको हो। डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ। दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यसले एक हजार २०० यात्रु बोक्न सक्नेछ।

सम्बन्धित समाचार