सङ्खुवासभा । सङ्खुवासभामा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको एक महिना वित्दा झण्डै चार सयले परिचय पत्रको लागि बिवरण दर्ता गरेका छन् । गत साउन ३ गतेबाट बिवरण दर्ताको काम सुरु गरिएकोमा भदौ ३ वित्दा ३ सय ८७ जनाले मात्र बिवरण दर्ता गराएका हुन् ।
जिल्ला प्रशासन कार्यालयबाट बिवरण दर्ताको काम सुरु गरिएको हो । अहिलेसम्म नागरिकताको प्रमाण पत्र बनाउन आउनेहरुको मात्र बिवरण दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो । प्रत्येक स्थानीय तहहरुमा गएर बिवरण दर्ता गर्नु पर्ने भएपनि हाल प्राविधिक तयारी पुरा नभएकोले गाउँ स्तरसम्म जान नसकिएको उहाँले जानकारी दिनुभयो ।
बिवरण संकलनको लागि पर्याप्त कर्मचारी नभएकोले प्रत्येक स्थानीय तहहरुमा कर्मचारी पठाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । अहिले कार्य योजना तयार भईनसकेकोले दर्ताको कामलाई तिब्रता दिन नसकिएको उहाँले जानकारी दिनुभयो । सवै प्राविधिक तयारी गरेर तिहारपछि मात्र स्थानीय तहमा पुगेर बिवरण संकलन गर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले असोजपछि मात्र थप कर्मचारी ब्यवस्थापनको लागि बजेट पठाउने भएकाले पनि स्थानीय तहमा काम गर्न ढिलाइ हुने उहाँको भनाइ छ ।
यस पटक गाउँगाउँबाट बिवरण संकलन गरेर केन्द्र पठाईनेछ । यसरी संकलन गरिएको बिवरणको आधारमा करिव डेढ महिनापछि मात्र परिचय पत्र जिल्लामा आउने घिमिरेले जानकारी दिनुभयो । तयार भएको परिचय पत्र जिल्ला प्रसासन कार्यालय मार्फत नै वितरण गरिने उहाँले जानकारी दिनुभयो । परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराईको कागजातको सक्कल प्रमाण पत्र आवश्यक पर्ने बताइएको छ । परिचय पत्र बनाउनको लागि ब्यक्ति स्वयं बिवरण संकलन केन्द्रमा पुग्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
परिचयपत्र वितरणको कार्य योजना अनुसार दोश्रो चरण अन्तर्गत सङ्खुवासभामा परिचय पत्र वितरण गर्न लागिएको हो । उक्त कार्य तालिका अनुसार अघिल्लो बर्षबाट नै परिचय पत्र वितरणको काम थाल्नु पर्ने भएपनि उपकरण आई नपुगेकोले ढिलो भएको बताईएको छ । दोश्रो चरणमा प्रदेश एकका सङ्खुवासभा र झापा सहित १५ जिल्लामा परिचय पत्र वितरणको काम सुरु भएको हो ।
प्रतिक्रिया