मानेभञ्ज्याङ-हेलुवाबेशी सडकको हालत बर्षौदेखि उस्तै (भिडियो सहित)



मानेभञ्ज्याङ–हेलुवाबेँशी सडकको हिलोमा फसेको ट्याक्सी निकालिदै । तस्विर सौजन्यः सवित कुलुङ

सङ्खुवासभा । जिल्लाको जेठो खाँदबारी नगरपालिकामा पर्ने मानेभञ्ज्याङ हेलुवाबेशी सडक हिलाम्य भएपछि आवतजावतमा नागरिकहरुले हैरानी भोग्नु परेको बर्षौ भयो । तर अहिलेसम्म सडक स्तर बृद्धिको कामले भने निकाश पाएको छैन ।

दैनिक सयौं यात्रु हिड्ने उक्त सडकमा बर्षातको समय सुरु हुने वित्तिकै सडक हिलाम्य भएपछि यातायात ठप्प हुन्छ । त्यहाँ कुनै सवारी साधन नचलेपछि भोजपुर र सङ्खुवासभाका यात्रुहरु काँधमा भारी बोकेर घण्टौ हिड्नु परेको छ । चिम्टाईलो माटोमा थोरै मात्र पानी पर्ने वित्तिकै सडक चिप्लो हुने भएपछि कुनै सवारी साधन त्यस क्षेत्रमा चल्दैन । लामो समयसम्म घाम लागेपछि एकादुईले सवारी साधन चलाएपनि गाडी फस्ने हुँदा निक्कै झन्झट ब्यहोर्नु परेको सवारी चालकहरु बताउछन् । जोखिम मोलेर गाडी लगेपनि हिलो काट्नै समस्या भएकोले त्यस क्षेत्रमा सवारी नलगिएको ट्याक्सी चालक सोमबहादुर राईले बताउनुभयो ।

त्यस क्षेत्रमा नगरपालिकाले सडकको स्तर उन्नतीमा कम चासो दिएको आरोप लगाउने गरेका छन् । बर्षौदेखि उस्तै समस्या भोग्नु परेको नगरपालिकालाई थाहा हुँदाहुँदै पनि बर्षा लाग्दा सवारी सञ्चालन गर्न सक्ने वातावरण बनाउन कुनै चासो नदिएको सिलिचोङ गाउँपालिका ३ का सवित कुलुङको दुखेसो छ । ‘मैले जान्दादेखि नै सडकको हालत उस्तै छ, सरोकारवालाले यताको नागरिकहरुको पिडा कहिले थाहा पाउने हुन्’, कुलुङले भन्नुभयो । बर्षौदेखि उक्त सडकमा उस्तै समस्या भोग्दै आएका नागरिकहरुले नगरपालिकाले आफुहरुलाई उपेक्षा गरेको आरोप लगाउन थालेका छन् । बढी जसो हिलाम्य हुने ठाउँठाँउमा मात्र सोलिङ गरिदिए सवारी आवतजावत हुने सक्ने खाँदबारी ११ का भक्तराम राई बताउनुहुन्छ । उहाँका अनुसार त्यस सडक खण्डमा पाँच स्थानमा मर्मत गरे सवारी आवतजावतमा सहजता आउनेछ ।

१८ किलोमिटर लामो उक्त सडक भोजपुरको साल्पा सिलिछो गाउँपालिका र सङ्खुवासभाकै सिलिचोङ गाउँपालिकाको प्रवेश मार्ग हो । त्यस सडकमा कालोपत्रे गर्नको लागि बजेट प्राप्त भईसकेको खाँदबारी नगरपालिकाका मेयर मुरारी खतिवडाले जानकारी दिनुभयो । यसको सम्पुर्ण काम जिल्ला प्राविधिक कार्यालयले गरिरहेको उहाँले बताउनुभयो । जिल्ला प्राविधिक कार्यालय सङ्खुवासभाका अनुसार त्यस सडकमा कालोपत्रे गर्नको लागि ठेक्का आव्हान गरिसकिएको छ । बोलपत्र आव्हानपछि पेश भईआएको कम्पनीहरु माथी केही प्राविधिक त्रुटीहरु रहेकोले प्रदेश सरकारलाई सवै फाईल पठाईएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख गंगा सागरले जानकारी दिनुभयो ।

आवेदन परेको मध्ये केही निर्माण कम्पनी माथी अख्तिारमा उजुरी परेकोले त्यस्ता कम्पनीलाई समावेश गराउने वा नगराउने विषयमा दुबिधा भएकोले प्रदेश सरकारलाई फाईल बुझाईएको प्रमुख सागरले जानकारी दिनुभयो । प्रदेश सरकारबाट छिनोफानो भएलगत्तै काम सुरु हुने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार