मेरो चरित्र हत्या भयो, कानुनी उपचार खोज्छुः ओङ्दी शेर्पा



खाँदबारी । पछिल्लो समय चर्चामा रहेको ईसुवा खोला हाईड्रो पावरको जग्गा प्रकरणमा आफ्नो नाम जोडिएपछि मकालु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ओङ्दी शेर्पाले खण्डन गरेका छन् । आफ्नो संलग्नता नरहेको अवस्थामा नाम जोडी सञ्चार माध्ययममा समाचार लेखेर चरित्र हत्या गरिएको शेर्पाले बताएका छन् ।

शेर्पाले पत्रकार महासंघ सङ्खुवासभामा पत्रकार सम्मेलन गरेर आफ्नो चरित्र हत्या गर्ने सञ्चार माध्ययम र पत्रकारलाई कारबाही गर्न पत्रकार महासंघलाई अनुरोध समेत गरेका छन् । विभिन्न सञ्चार माध्ययमहरुमा कम्पनी र वडा अध्यक्षको मिलेमतोमा स्थानीय जग्गा दाताहरुलाई ठगेको, कसैलाई जानकारी नै नदिई सुटुक्क सरोकार समिति गठन गरेको लगायतका झुटो आरोप लगाएर आफ्नो मान हानी गरिएको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै समाचारमा लगाईएका सम्पुर्ण आरोपहरु झुटो रहेको उहाँले बताउनुभयो ।

चैत ३, २०७४ मा स्थानीय नागरिकहरु, जनप्रतिनिधी, राजनितिक दल, बुद्धिजिवीहरुको उपस्थितीमा भेलाको आयोजना गरि सरोकार समिति गठन गरिएको र उक्त समितिले विद्युत विकास कम्पनीसँग विभिन्न चरणमा छलफल गरि मागहरु पेश गरिदै आएको उहाँले जानकारी दिनुभयो । यसरी छलफलकै क्रममा स्थानीय प्रभावितहरुको जग्गाको मुल्य समेत निर्धारण गरिएको उहाँले दावी गर्नुभयो । त्यस्तै, सवै सरोकारवालाहरुको सहभागीतामा वातावरणविद् संकर भुसाल लगायतको टोलीहरुको उपस्थितीमा वातावरणिय प्रभाव मुल्याङ्कनको सार्वजनिक सुनुवाई समेत गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

आफ्नो ब्यक्तिगत काम परेकोले साउन ५, २०७६ देखि लागु हुने गरि निर्वाचित वडा सदस्य बुद्धसिं तामाङलाई कार्यबाहक छोडेर आफु काठ्माण्डौ गएको जानकारी दिनुहुदै ‘गैह्रजिम्मेवारी भएर तीन महिनासम्म सम्पर्क बाहिर बसेको’ भन्ने आरोपको खण्डन गर्नुभएको छ । कम्पनीलाई दिईने भनिएको जग्गा ब्यक्तिको नाममा पास गर्ने विषयमा आफुले सिफारिस रोक्न खोज्दा ७५ रोपनी भन्दा बढी कम्पनीको नाममा पास गर्न झण्झटिलो हुने भन्दै कम्पनीका अध्यक्ष बिरेन्द्र बहादुर न्यौपाने स्वयंले आग्रह गरेपछि सिफारिस दिएको शेर्पाले जानकारी दिनुभयो । यस विषयमा कम्पनीलाई सम्पुर्ण स्पष्टिकरण माग गरिसकिएको उहाँको भनाई छ ।

आफु निर्दोश रहेको र कुनै सत्य तथ्यको खोजी नगरि कसैको झुटो आरोपको भरमा समाचार लेखेर ब्यक्तिगत चरित्र हत्या र बद्नाम गर्ने सञ्चार संस्था र पत्रकारहरुलाई कारबाही हुनुपर्ने शेर्पाको माग छ । जसको लागि पत्रकार महासंघ सङ्खुवासभालाई प्रमाण सहित उजुरी दिईसकेका छन् भने प्रेस काउन्सिलमा पनि उजुरी दिन लागेको शेर्पाले जानकारी दिनुभयो । सञ्चार क्षेत्रबाट आफु अन्याय परेकोले कानुनी उपचार खोज्नु परेको शेर्पाले बताउनुभयो ।

पत्रकार महासंघ सङ्खुवासभालाई पेश गरिएको पत्र ।

सम्बन्धित समाचार