रुद्राक्षको ब्यापारमा बिविधिकरण



खाँदबारीमा रुद्राक्ष दानाबाट निर्माण गरिएको सामग्रीहरु ।

सङ्खुवासभा । रुद्राक्ष धार्मीक आस्थासँग जोडिएको बस्तु हो । तर पछिल्लो समय भने धार्मिक बस्तुको परिधीमा मात्र नरहने भएको छ । केहि बर्षअघिसम्म नै मुखदार (धेरै मुख भएको) रुद्राक्षको दाना मात्र विक्रि हुने गरेको थियो । उक्त रुद्राक्षहरु धार्मीक कार्यमा प्रयोग गरिने भएपछि निक्कै ठुलो मुल्यमा विक्रि गरिदै आएको थियो । थोरै मुख भएकाहरु भने त्यस्सै नष्ट भएर जान्थ्यो । तर, पछिल्लो समय भने साना मुख भएको रुद्राक्षहरु पनि उपयोगी हुन थालेका छन् । केही बर्ष अघिसम्म नै धार्मिक आस्थामा मात्र सिमिति रहेको रुद्राक्ष अहिले गरगहना र सरसजावतको बस्तुमा परिणत हुन थालेको छ ।

चिन र भारतका ब्यापारीहरुले राम्रो गुणस्तरको रुद्राक्ष लिएर गएपछि बाँकी रहेका रुद्राक्षहरुबाट ब्यावसायीहरुले विभिन्न सामानहरु निर्माण गर्न थालेका छन् । छानिएर बाँकी रहेका रुद्राक्षहरुबाट चुरा, माला, झोला, डालो लगायतका विभिन्न सामानहरु निर्माण गरिदै आएको छ । यसरी निर्माण गरिएको सामानहरु निक्कै आकर्षक भएकोले बजार माग पनि बढ्दो रहेको खाँदबारी १ का ब्यावसायी कैलाश शाक्यको भनाई छ । ब्यावसायीहरुले राम्रो र सामान्य गरि सवै खाले रुद्राक्षहरु प्रयोग गरेर उक्त दानाहरुबाट समाग्री बनाउदै आएको उहाँले बताउनुभयो । यसरी निर्माण भएको सामानहरुको मुल्य रुद्राक्षको गुणस्तरमा भर पर्ने शाक्यले जानकारी दिनुभयो । राम्रो गुणस्तरको रुद्राक्षको सामग्री महँगो भएपनि सामान्यको भने सस्तो पर्ने उहाँले बनाउनुभयो ।

यसरी निर्मित सामग्रीहरुमा पचास रुपैयाँदेखि पचास हजारसम्म पर्ने उहाँले जानकारी दिनुभयो । रुद्राक्षबाट बनेका सामग्रीहरु मध्ये चुरा र माला सस्तो पर्छ भने झोला, डालो लगायतका बस्तुहरुलाई बढि मुल्य पर्ने उहाँले बताउनुभयो । यसमा पनि रुद्राक्ष दानाको गुणस्तरले मुल्य निर्धारण गर्ने शाक्यले जानकारी दिनुभयो । थोरै मुख भएपनि चिल्लो र थेप्चो आकार भएको दानालाई राम्रो गुणस्तरको मान्ने गरिन्छ । यस्तो रुद्राक्षहरु बढीजसो चिनियाँ ब्यापारिले किन्ने गरेका छन् ।

यसरी रुद्राक्षको दानाबाट निर्मित सामग्रीहरु बढीजसो जिल्ला बाहिरबाट आउनेहरुले किन्ने गरेको खाँदबारीका अर्का ब्यवसायी सिर्जना राईले बताउनुभयो । जिल्लाकै मानिसहरुलाई रुद्राक्ष सामान्य लाग्ने तर बाहिरबाट आउनेहरुलाई नौलो लाग्ने भएकोले पनि उनीहरुले चिनोको रुपमा किन्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय खेर जाने सामान्य गुणस्तरका रुद्राक्षहरुबाट सामग्री बनाएर विक्रि भएपछि राम्रो आयआर्ज पनि हुन थालेको राईले बताउनुभयो ।

मुखदार रुद्राक्ष हिन्दु धर्मावलम्बीहरुले किन्ने गरेका छन् । यस्तो रुद्राक्षको ब्यापार नेपालमा नहुने र सवै भारत निकासी हुने गरेको रुद्राक्ष ब्यवसायी संघका अध्यक्ष चक्र विसुङ्केले जानकारी दिनुभयो । भारतका हिन्दु धर्मावलम्बीहरुले धार्मिक कार्यको लागि मुखदार खरिद गर्ने र चिनियाहरुले गरगहना बनाउनकै लागि रुद्राक्ष खरिद गर्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय सामान्य गुणस्तरका दानाबाट सामग्री बनाउन सुरु हुनु अत्यन्त राम्रो भएको अध्यक्ष बिसुङ्केको भनाई छ । यसले राम्रो गुणस्तर नफलेर निरास भएका कृषकहरुलाई पनि राहत पुराउने उहाँको दावी छ ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार