संखुवासभामा पनि चार जनामा देखियो डेंगुको संक्रमण



संखुवासभा । हिमाली जिल्ला सङ्खुवासभामा पनि डेंगुका बिरामी भेटिएको छ । जिल्लाको विभिन्न अस्पतालमा आएका बिरामीको परिक्षण गर्ने क्रममा चार जनामा डेंगु भेटिएको हो ।

जिल्लाको गोपाल भगत मेमोरियल अस्पतालमा १, मनकामना अस्पतालमा २ र जिल्ला अस्पताल खाँदबारीमा १ जना डेंगु संक्रमित विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । डेंगुका संक्रमितहरु मध्ये दुई जना तराईका विभिन्न क्षेत्रमा गईरहने भएकोले उतैबाट संक्रिमित भएर आएको आसंका गरिएको थियो । तर, बाहिर जिल्ला नगएका दुई जनामा पनि पछिल्लो पटक डेंगुको संक्रमण भेटिएपछि भने जिल्लामै संक्रमण फैलाउने लामखुट्टे भएको चिकित्सकहरु बताउछन् । मुख्य गरि अन्यत्र नगएका तुम्लिङटारका दुई बिरामीहरुमा डेंगु भेटिएपछि जिल्लामै पनि डेंगुको भाईरस फैलाउने लामखुट्टे भएको चिकित्सकहरुको दावी छ ।

यसरी भेटिएका बिरामीहरु मध्ये २ जनालाई जिल्लामै उपचारपछि घरमा आराम गर्ने गरि पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटीले जानकारी दिनुभयो । अन्य दुई जनालाई भने थप उपचारको लागि धरान पठाईएको उहाँले जानकारी दिनुभयो । सुरुवाती चरणमा नै रोग पत्ता लगाएर उपचार गरे डेंगु सामान्य रहेको तर उपचारमा ढिलाई भए जटिल पनि बन्न सक्ने जिल्ला अस्पताल खाँदबारीका चिकित्सक लक्षमण खड्काले बताउनुभयो । डेंगुको आसंका हुनेले जतिसक्दो चाँडो अस्पताल पुगेर स्वास्थ्य परिक्षण गर्न डाक्टर खड्काको सुझाव छ ।

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट यो संक्रमण हुने चिकित्सकहरु बताउछन् । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने चिकित्सक खड्काको भनाइ छ । उहाँका अनुसार यसले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको छ चिकित्सक खड्काको भनाई छ ।

सम्बन्धित समाचार