सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण



डडेल्धुरा । सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले रेडियो नेपालका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको छ। रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत सञ्चाकर्मीलाई बिनाकारण कुनै जानकारीसम्म नदिइ जागिरबाट निकालिएकाले पुनर्वहालीको माग गर्दै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको हो।

लामो समयदेखि सरकारी सञ्चार माध्यम रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीलाई बिनाकारण जागिरबाट निकाल्नुले विभिन्न समयमा विभिन्न तवरबाट पत्रकारमाथि हुने पीडामाथि झनै पीडा थपिएको महसुस भएको जनाउँदै प्रेस युनियन डडेल्धुराले पुर्नवहालीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत रेडियो नेपालका कार्यकारी निर्देशक सिहदरबार काठमाडौं र रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीलाई ज्ञापनपत्र पठाएको हो।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत नेपाल प्रेस युनियन डोटी शाखा अध्यक्ष प्रकाशबहादुर बम, उपाध्यक्ष चक्र कुँवर र केन्द्रिय पार्षद सुनिता रावललाई बिनाकारण जागिरबाट निकालिनु रेडियो नेपालको इतिहास तथा पत्रकारिताको इतिहासमा सबैभन्दा दुःखदायी र आततायी घटनाको रूपमा लिएको भन्दै पुनर्वहालीको माग गर्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष धनबहादुर भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ।

‘पूर्वाग्राही पूर्ण निर्णय तुरुन्त सच्याएर तीनै जनाको पुर्नवहाली गर्दै काममा फर्काउन नेपाल प्रेस युनियन डडेल्धुरा शाखा केन्द्रको निर्देशनअनुसार यस ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछ’ ज्ञापन पत्रमा भनिएको छ। अन्यथा पत्रकारकारको हकहित र सुरक्षाका लागि अन्यायपूर्ण अलोकतान्त्रिक निर्णयविरुद्ध ठोस् कदम सारी अगाडि बढ्ने प्रेस युनियले ज्ञापनपत्रमार्फत चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचार