नेपालगञ्ज नाकाबाट हराए ६९७ महिला



नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०७५÷७६ मा ६९७ महिला हराएका छन् । नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा आर्थिक वर्ष २०७५÷७६ मा महिलाको खोजतलासका लागि ८३३ निवेदन परेका छन् । त्यसमध्येमा १३६ जनाको उद्धार गरिएको माइती नेपालका संयोजक कोइरालाले जानकारी दिनुभयो ।

“खोजतलासको लागि निवेदन दिएकामध्ये १३६ लाई उद्धार गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “हामीकहाँ निवेदन दिएकामात्रै ६९७ महिला हराएका छन्, खोजतलासका लागि निवेदन नदिएका महिलाको यकिननै छैन ।” उहाँका अनुसार, घरपरिवारलाई थाहा नदिएर वा कतिपय सल्लाहले गएका महिला केही महीनापछि सम्पर्कमा नआएपछि आफन्तले खोजतलास तथा उद्धारका लागि निवेदन दिने गरेका छन् ।

संयोजक कोइरालाका अनुसार, आर्थिक वर्ष २०७४÷०७५ मा खोजतलासका लागिपरेका ९१३ निवेदनमध्ये १४३ जना फेला परेका थिए । माइती नेपालका कर्मचारीले गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ९०२ जनालाई फिर्ता पठाएको छ ।

सम्बन्धित समाचार