टीकापुर काण्डबारे प्रचण्डलाई बुझायो ७ बुँदे ज्ञापनपत्र



काठमाडौं । थारू कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते कैललीको टिकापुरमा भएको थारूवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरूलाई अविलम्ब रिहाइको माग गरेको छ। सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार खुमलटारमा भेटेर सभाका अध्यक्ष धनिराम चौधरीसहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह र तप्कामा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेज गर्न पनि माग गरिएको छ।

अध्यक्ष प्रचण्डले ले थारूहरूको मागप्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने जवाफ दिएका थिए। उनले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरूको अभूतपूर्व योगदान रहेको भन्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गरेका थिए। टीकापुरमा २०७२ सालमा भएको घटनामा प्रहरी उच्च अधिकारीसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो। त्यहाँबाट सांसद जितेका रेशम चौधरी अहिले पनि जेलमा छन्।

सम्बन्धित समाचार