भोजपुरमा अमेरिकी फौजी कीराको प्रकोप बढे



भोजपुर । भोजपुरमा अमेरिकी फौजी कीराको आक्रमणले करीब २५ हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार पछिल्लो समय उदयपुर र खोटाङमा देखिएको यो प्रजातिको कीराको प्रकोप भोजपुरमा पनि बढेको छ ।

फौजी कीराले मकैबाली सखाप पार्न थालेपछि भोजपुरको टक्सार, आम्तेक मानेभञ्जाङ, जरायोटार, याङपाङ र रानीवास लगायत क्षेत्र किसान चिन्तित बनेका छन् । लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी कीराले दुःख दिन थालेको किसान बताउँछन् । कीराले मकैसँगै अन्य बालीसमेत मास्न थालेको स्थानीयको भनाइ छ ।

फौजी कीराले ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने तथा रातमा कलिला पात खाएर मकैको बोट नष्ट गर्ने गर्दछ । फौजी कीराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने समस्या हुने गर्दछ । यसको आक्रमणबाट बच्न समयमै औषधिको प्रयोग गर्नु पर्ने कृषि ज्ञान केन्द्रका निमित कार्यालय प्रमुख योगेन्द्रप्रसाद यादवले बताए ।

सम्बन्धित समाचार