गाई मृत्यु प्रकरणः प्रहरीले जाहेरी लिन नमानेको प्रति आपत्ति



काठमाडौं । नेपालगञ्ज उपमहानगरबाट लगिएका गाईको सुर्खेतमा मृत्यु भएको विषयमा प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ ।

एसोसिएनका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाउँदै सुर्खेत घटनामा प्रहरीले जाहेरी लिन नमानेको प्रति आपत्ति जनाएका हुन् ।

एशोसिएसनका अध्यक्ष डा शितलकाजी श्रेष्ठले घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरेर दोषी उपर प्रचलित कानून बमोजिम कारवाही र त्यसका लागि संलग्न पदाधिकारी एवं कर्मचारीलाई तत्काल निलम्बन गर्न ध्यानाकर्षण गराइएको बताए ।

उनका अनुसार कानून बमोजिम कडाभन्दा कडा आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउन नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ ।

यसअघि १२ भदौमा नेपालगञ्जको कान्जी हाउसबाट करिब ३ सय ७० गाईगोरु र बाच्छाबाच्छीलाई ८ वटा ट्रकमा दैलेख लगिएकोमा सुर्खेतमा २३ वटा गाई मृत भेटिएका थिए ।

सम्बन्धित समाचार