बोइलर मारेर नेपाल ल्याउदै



विराटनगर ।  सरकारले भारतबाट आयात गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको बोइलर कुखुरा मारेर अवैध रुपमा नेपाल भित्र्याउने गरेको पाइएको छ।

चोरी तस्करीमा संलग्नले मारेर झोलामा राख्दै साइकल, रिक्सालगायत साधनमा हालेर जोगवनी, दरैया, हुलास मेटल, मटेर्वा समेतका नाकाबाट नेपाल ल्याउने गरेका हुन्। बर्डफ्लु भित्रने र त्यसको जोखिम हुने भन्दै सरकारले बोइलर आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।

जिउँदै कुखुरा तस्करी गरेर ल्याउने गरिएकोमा पछिल्लो समय मारेर ल्याउन थालिएको प्रहरीले जनाएको छ। ‘जिउँदोलाई झोलामा राख्न पनि अप्ठेरो हुन्छ। एउटा जिउँदो राख्ने ठाउँमा दुईवटा मरेका कुखुरा अट्छन्,’ एक प्रहरीले भने, ‘झोलामा राख्न सजिलो होस् र परबाट हेर्दा कुखुरा ल्याउँदै गरेको नदेखिओस भनेर मारेर ल्याउने गरेको पाइयो। यसरी भित्राइएका कुखुरा मासु पसलमा पुर्‍याएर सस्तोमा बिक्री गर्ने गरिँदो रहेछ।’

भारतबाट मारेर ल्याएपछि नेपालमा बिक्री हुने र त्यो मासु पसलबाट उपभोक्तालाई बिक्री गर्ने गरिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए।

नेपालतर्फ बोइलर तस्करी गर्ने आठजना भारतीय नागरिकलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेसँगै मरेका कुखुरा धमाधम नेपाल भित्राइरहेको पुष्टि भएको हो। विराटनगर महानगरपालिका–१५ हुलास मेटलबाट एक सय ४४ वटा बोइलर पनि बरामद भएको छ। बरामद भएका मध्ये एक सय दुईवटा कुखुरा मरेको अवस्थामा भेटिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए।

पक्राउ पर्नेमा भारत विहार स्लामपुरका २१ वर्षी मोहम्मद सेनदेन, २२ वर्षीय आजाद अली, मोहम्मद अजबुल, अजात अली, १७ वर्षीय मोहम्मद ईरफन, १८ वर्षीय मोहम्मद मुस्तक, मोहम्मद मनु र मोहम्मद मजेबुल छन्।

सम्बन्धित समाचार