तस्करको घरमा छापा मार्ने अभियान



जनकपुरधाम ।  प्रहरीले तस्करको घरमा छापा मार्ने अभियान चलाएको छ। प्रहरीले धनुषाको धनौजी गाउँपालिका १ स्थित तस्करहरुको घरमा छापा मारेर प्रहरीले लाखौंको समान बरामद गरेको हो। साथै पाँच तस्करलाई समेत पक्राउ गरेको छ। स्थानीय धमेन्द्र साह तेलीसहितको घरमा छापा मारेर भारतबाट भन्सार छली ल्याएको ५ लाख मूल्य बाराबरको लताकपडा र ६ वटा मोटरसाईकल बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तस्करीका समान र मोटरसाइकलसहित जनकपुरधाम उपमहानगरपालिका १ का २६ वर्षीय राजेश कापर, जनकपुरधाम १९ का ३२ वर्षीय रामअशिष महरा, जनकपुरधाम २५ का १८ वर्षीय मोहम्मद तमन्ना र भारत विहारको इटहर्वाका मोहम्मद अतमल पक्राउ परेका छन्। तस्कर नाइके तेली भने फरार छन्।  धनौजी गाउँपालिका भारतीय सिमासँग जोगिएको छ।

सोही कारण यहाँका केहि व्यक्ति प्रहरीलाई समेत धाकधम्की देखाएर तस्करी गर्ने गरेको छ। केहिदिन अगाडी तस्करहरुले प्रहरीकै पेस्तोल लुटेर समेत भागेका थिए। त्यसपछि प्रहरीले तस्करी नियन्त्रण गर्न तस्करलाई निशाना बनाएका छन्। धनुषाका एसपी शेखर खनालले तस्करी नियन्त्रण अभियान नै चलाएको बताए। उनले अभियान अन्तर्गत नै तस्करको घरमा छापा मारेको प्रतिक्रिया दिए।  प्रहरीले पाँच दिन अगाडी मात्रै धनुषाको विदेह नगरपालिका २ दुहवीका तस्कर राजिव महासेठको घरमा छापा मारेर तीन लाखभन्दा बढीको तस्करीका विभिन्न समान बरामद गरेको थियो।

सम्बन्धित समाचार