नारायणी नदीमा दशै अघि पानी जहाज यात्रा



सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल भित्रने छ । इन्जिन जडानलाई धेरै समय नलाग्ने भएकाले सजावट र रङरोगनको काम १५ दिनभित्र सम्पन्न गरी नदीमा परीक्षण गरिने कँडेलले जानकारी दिनुभयो । उक्त परीक्षण पछि नियमित सञ्चालन भने दशैंपछि मात्र गर्ने तयारी गरिएको छ ।

भूइतला मात्र वातावरण अनुकूलित बनाइने भनिएकोमा पहिलो तल्ला पनि वातावरण अनुकूलित बनाइने भएको छ । पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्लासमेतमा पर्यटकले उभिएर अवलोकन गर्न सक्ने कँडेलले जानकारी दिनुभयो । क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ । भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो ।

क्रुज सञ्चालन गर्न करीब रु. १५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताउनुहुँदै क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र सञ्चालन गरिने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार